कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

सारांश

  •   सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
  • सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो ।
  • धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 ६ जेठ, ताप्लेजुङ । 

सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत स्थलको प्रचारप्रसार र प्रवर्द्धन पनि महोत्सवमार्फत गरिने छ । जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तरराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तरराष्ट्रिय जैविक मार्गका रूपमा परिचित धार्मिक पर्यटकीय क्षेत्र भएकाले महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार पर्यटन गतिविधि बढेसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधि रहने छन् ।  तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेतालाई नगद रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छभने उपविजेताले रु ३० हजार पुरस्कार पाउने छन् । त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि हुने छ, जसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार पाउने छन् ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ) तथा स्थानीय जातजातिका संस्कार–संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ । धार्मिक पर्यटनको दृष्टिले सिदिङ्मा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । पछिल्लो समयमा भ्रमण गर्ने आन्तरिक पर्यटक उल्लेख्य वृद्धि भएको स्थानीय कैलाश राईले बताउनुभयो । उहाँका अनुसार यसअघि सीमित पर्यटक मात्र पुग्ने सिदिङ्मा धाममा अहिले बढ्दो सङ्ख्यामा पर्यटक आउन थालेका छन् । धाम सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित छ । अहिले सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ । सिक्रेडाँडाबाट सिदिङ्मासम्म करिब अढाइ घण्टाको पैदलयात्रा गर्नुपर्छ । यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ ।

धार्मिक मान्यताअनुसार सिदिङ्मा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकाङ्क्षा पूरा गरेको स्थल मानिन्छ । दर्शनार्थीहरू यहाँ आफ्नो इच्छा पूरा हुने विश्वाससहित पूजाआजा गर्न पुग्ने गर्छन् । स्थानीयका अनुसार विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा सिदिङ्मामा उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् । गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमले यस क्षेत्रमा पर्यटक बढ्न थालेको बताउनुभयो । सिक्रेडाँडासम्म सडक ट्रयाक निर्माण, पदमार्ग, प्रवेशद्वार (गेट)लगायत संरचना निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले सिदिङ्मा धाम क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धनका लागि महोत्सवसहित दीर्घकालीन योजना बनाएको छ । हाल सिदिङ्मा धाममा स्थानीय, ताप्लेजुङका अन्य क्षेत्र र पाँचथरबाट पनि पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते