भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
९१ पटक हेरिएको
Shares
भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु

सारांश

  • ठेकेदारको ढिलासुस्तीका कारणले लामो समयदेखि निर्माण रोकिएको भरतपुर विमानस्थलको नयाँ टर्मिलन भवनको काम पुन: सुरु भएको छ ।
  • विमानस्थलको टर्मिनल भवनको टावर तथा संरचनाका काम विगत एक बर्षदेखि रोकिएको थियो ।
  • अहिले पुन: निर्माणको कामलाई अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

 

२२ असोज, चितवन ।

ठेकेदारको ढिलासुस्तीका कारणले लामो समयदेखि निर्माण रोकिएको भरतपुर विमानस्थलको नयाँ टर्मिलन भवनको काम पुन: सुरु भएको छ । विमानस्थलको टर्मिनल भवनको टावर तथा संरचनाका काम विगत एक बर्षदेखि रोकिएको थियो । अहिले पुन: निर्माणको कामलाई अगाडि बढाइएको आयोजनाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा बन्ने टर्मिनल भवनको ठेक्का कोशी–क्षमादेवी–प्रतिष्ठा जेभीलाई दिएको थियो । ३६ महिना अर्थात ३ वर्ष भित्र निर्माण पूरा गरी सक्ने गरी २०७९ चैत ६ गते निर्माण सम्झौता भएको थियो । तर, सम्झौता मिति सकिदासमेत ठेकेदारले ४० प्रतिशत पनि काम सम्पन्न नगरेपछि गत चैतमा १ वर्ष म्याद थप गरिएको आयोजना प्रमुख चन्द्रमणि सापकोटाले जानकारी दिए ।

ठेकेदारलाई काम नरोक्न र अगाडि बढाउन पटकपटक पत्राचार गरे पनि ठेकेदारको वेवास्ताका कारणले समयमा नै काम अगाडि बढन सकेन । आयोजनाले अतिरिक्त सुविधा नपाउने गरी म्याद थप गरेको हो । २०८२ चैतमा म्याद थप गरे पनि ठेकेदारले २०८३ भदौंमा आएर थोरै कामदार राखेर काम थालेको छ । टर्मिनल भवनको ट्रसको काम अगाडि नबढाउँदासम्म यसको भौतिक प्रगति नदेखिने आयोजना प्रमुख सापकोटाले बताए ।

अहिले भइरहेको भवन भन्दा करिब २ सय मिटर पश्चिमतर्फ बन्दै गरेको नयाँ टर्मिनल भवनको शिलान्यास तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैत १६ गते गरेका थिए । नयाँ टर्मिनल भवन बनेपछि पिक आवरमा एक हजार यात्रुले सेवा लिन सक्छन् । १४ कठ्ठा क्षेत्रफल ओगट्ने भवन ८ हजार बर्गमिटर क्षेत्रमा २ तलाको हुनेछ । त्यसमा ८ तले कन्ट्रोल टावर, ३ वटा लिफ्ट, ३ स्केलेटन, एसी, आगलागीबारे पूर्व सूचना दिने संयन्त्र जडान हुने जनाइएको छ ।

भरतपुर विमानस्थलमा झन्डै ६२ वर्ष अगाडि बनेको पुरानो टर्मिनल भवन जीर्ण, साँघुरो र यात्रु मैत्री छैन ।

विमानस्थलको रनवे विस्तार गर्ने उद्देश्यसहित नयाँ टर्मिनल भवन अहिले भएको भवनभन्दा २ सय मिटर पश्चिमतर्फ सारेर बनाउन लागिएको हो । रनवे सानो भएका कारण ठूला जहाजलाई उडान अवतरणमा समस्या हुँदै आएको छ । रात्रिकालीन उडान हुन सकेको छैन । भाडादर अन्यत्रको तुलनामा निकै मंहगो छ ।

देशकै मध्यभाग र तेस्रो पर्यटकीय गन्तब्य, मेडिकल सिटी र आर्थिक तथा राजनीतिको पनि केन्द्र बन्दै गएको कारण भरतपुर विमानस्थल विस्तार र नयाँ टर्मिनल भवनको आवश्यकता छ ।

विमानस्थलको रनवे विस्तारका लागि नेपाली सेनाको पश्चिमतर्फ रहेको घोडा प्रजनन् केन्द्रको जग्गा लिने तयारी अगाडि बढाइए पनि गति भने निकै सुस्त छ । अहिले भएको १२ सय मिटर लामो धावनमार्गलाई कम्तीमा १५ सय मिटरको बनाउने लक्ष्य राखिएको छ । २०८० माघ १८ गते बसेको मन्त्रीपरिषद्को बैठकले भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा सार्ने निर्णय गरेको थियो । सो बैठकले सेनाको मातहतमा रहेको ७० बिगाहा ८ कट्ठा ४ धुर जग्गा मध्ये १९ विगाहा जग्गा विमानस्थलको रनवे विस्तारका लागि दिने निर्णय गरेको थियो । सेनाको घोडा प्रजनन् केन्द्रका लागि आवश्यक संरचना तथा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने बजेटसमेत सरकारले व्यवस्था गर्ने निर्णय त्यसबेला भएको थियो ।

२०१७ साल फागुन २२ गतेदेखि सेवा सुरू गरेको भरतपुर विमानस्थल धेरै हवाई चाप हुनेमध्येमा पर्छ । यहाँबाट विगतमा यती एयरलाइन्स, बुद्ध एयर र सिम्रिक एयरले उडान भर्दै आए पनि अहिले भने बुद्ध एयरले मात्रै नियमित उडान गरेको छ । कुनै समय दैनिक ८ सय यात्रुले सेवा लिएको भरतपुर विमानस्थलमा करीव ५ सय यात्रुले सेवा लिदै आएका छन् ।

विगतमा भरतपुरबाट काठमाडौं, पोखरा र भैरहवासम्म उडान हुँदै आएकोमा अहिले भरतपुरबाट काठमाण्डौं मात्रै उडान हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?