कर्णालीमा लामो दूरीका सवारी बन्द
सारांश
- भारी वर्षा जारी रहँदा कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको छ ।
- बाढी, पहिरो र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रु तथा सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन लामो दूरीका सवारी रोकिएका हुन् ।
- कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, नेपालगन्ज, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रुकुमतर्फ सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ ।
९ असोज, सुर्खेत । भारी वर्षा जारी रहँदा कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको छ । बाढी, पहिरो र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रु तथा सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन लामो दूरीका सवारी रोकिएका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, नेपालगन्ज, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रुकुमतर्फ सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ ।
छोटो दूरीका स्थानीय सवारीसाधन भने सडकको अवस्था हेरेर सञ्चालन भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोस सिह राठोरले बताए ।
वशेषगरी भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो खस्ने, सडक भासिने र खोलानालामा पानीको बहाव बढिरहेको छ । शुक्रबार बिहानै देखि कर्णालीका सबै ठाउँमा नियमित वर्षा भईरहेको छ ।
लामो दूरीका सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र पर्ने सम्भावना भएकाले यातायात राखिएको छ । एकपटक सडक अवरुद्ध भएपछि पहाडी जिल्लामा तत्काल वैकल्पिक मार्ग उपलब्ध नहुने भएकाले सामान्य सडक अवरोधसमेत घण्टौँ वा दिनौँसम्मको यातायात समस्यामा परिणत हुन सक्ने भएकाले यातायात रोखिएको हो ।
जोखिम घटाउने निर्णय, तर पूर्वतयारी चुनौती
लामो दूरीका सवारी रोक्नु सम्भावित मानवीय क्षति न्यूनीकरणका दृष्टिले महत्वपूर्ण भए पनि सडक अवरोध भइसकेपछि उद्धार र यातायात सञ्चालन गर्नुभन्दा जोखिमयुक्त सडकखण्डको पहिचान, नियमित अनुगमन र पूर्वतयारी प्रभावकारी हुन सक्छ ।
प्रहरी, स्थानीय तह, सडक डिभिजन तथा यातायात व्यवसायीबीच तत्काल सूचना आदानप्रदान र समन्वय हुन सके यात्रु अलपत्र पर्ने अवस्था कम गर्न सकिन्छ। साथै, सडक खुलेको अवस्थामा पनि जोखिमयुक्त खण्डमा सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन गर्ने व्यवस्था आवश्यक हुन्छ ।
भारी वर्षाको अवस्था सामान्य नहुँदासम्म कर्णालीका सडकमा यात्रा गर्ने यात्रुले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया