वैदेशिक रोजगारको प्रलोभनमा ठगिएको १२ लाख रुपैयाँ फिर्ता
सारांश
- वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै रकम उठाएर ठगी गरेका एक व्यक्तिका परिवारबाट पीडित चार युवाले १२ लाख रुपैयाँ फिर्ता पाएका छन्।
- जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१ का राकेश महतोले मौरिसस पठाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ लिएका थिए।
- रकम लिएपछि उनले न विदेश पठाए, न त रकम नै फिर्ता गरेका थिए।
सर्लाही । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै रकम उठाएर ठगी गरेका एक व्यक्तिका परिवारबाट पीडित चार युवाले १२ लाख रुपैयाँ फिर्ता पाएका छन्।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१ का राकेश महतोले मौरिसस पठाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनले न विदेश पठाए, न त रकम नै फिर्ता गरेका थिए।
ठगीमा परेका मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवले गत असार २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।
उजुरीपछि प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। सोही क्रममा प्रशासनको रोहवरमा आरोपितका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगी भएको सम्पूर्ण १२ लाख रुपैयाँ फिर्ता गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले वैदेशिक रोजगारका नाममा हुने ठगीका घटनामा पीडितले जिल्ला प्रशासन कार्यालयमार्फत पनि न्याय खोज्न सक्ने बताए। यस्ता उजुरीमा प्रशासनले आवश्यक समन्वय र सहजीकरण गर्दै आएको उनको भनाइ छ।
उनले विदेश जान चाहने व्यक्तिलाई व्यक्तिगत प्रलोभनमा नपरी इजाजतप्राप्त म्यानपावर कम्पनी तथा आधिकारिक माध्यमबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरे। कानुनी प्रक्रिया नअपनाउँदा वैदेशिक रोजगारका नाममा ठगीमा पर्ने जोखिम बढ्ने उनले बताए।
प्रतिक्रिया