सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सारांश
- गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
- सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।
- गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
८ साउन, सिरहा ।
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ । सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ । गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो ।

त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो । सांसद गुप्तालाई जरिवाना गरिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्त कार्यान्वयन भएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने कतिपयले ५ सय रुपैयाँको जरिवाना पर्याप्त नभएको टिप्पणी गरेका छन् । आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका थिए । ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले लेखेका छन् ।



प्रतिक्रिया