विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
सारांश
- निर्वाचित भएर आए लगत्तै विद्यालयमा इ–हाजिरी प्रयोगमा ल्याएका चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले त्यसपछि पनि सुधारका प्रयास जारी राखेका छन् ।
- विद्यालयमा शिक्षकहरु पढाउन नआइ बाहिर घुमफिर गरेर बस्ने र राजनीतिमा सक्रिय भएपछि त्यसलाई नियन्त्रण गर्न इ–हाजिरी प्रयोगमा ल्याइयो ।
- शिक्षा क्षेत्रमा गाउँपालिकाले थालेको यो प्रयास पहिलो थियो ।
२४ असार, सर्लाही ।
निर्वाचित भएर आए लगत्तै विद्यालयमा इ–हाजिरी प्रयोगमा ल्याएका चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले त्यसपछि पनि सुधारका प्रयास जारी राखेका छन् । विद्यालयमा शिक्षकहरु पढाउन नआइ बाहिर घुमफिर गरेर बस्ने र राजनीतिमा सक्रिय भएपछि त्यसलाई नियन्त्रण गर्न इ–हाजिरी प्रयोगमा ल्याइयो । शिक्षा क्षेत्रमा गाउँपालिकाले थालेको यो प्रयास पहिलो थियो । त्यसपछि स्वयंसेवक शिक्षक भर्ना कार्य अघि बढाइयो । शिक्षक अभावमा विद्यार्थीले विभिन्न विषय अध्ययन गर्नै नपाउने अवस्था रहेपछि स्वयंसेवक शिक्षकको अवधारण अघि सारिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताएका छन् । इ–हाजिरी र स्वयंसेवक शिक्षक नियुक्तिको काममा सुरुमा अवरोध पनि भयो । निरन्तरको समन्वय र छलफलपछि सबै पक्षलाई सहमतिमा ल्याएर सुधारका प्रयासहरु सफल हुँँदै अघि बढेका छन् ।

चन्द्रनगर गाउँपालिकाले अहिले गाउँपालिकाभित्रका प्रत्येकजसो विद्यालयमा खानेपानीको सुविधा पुर्याएको छ । भवन अभाव रहेको ठाउँमा भवन तयार भएका छन् । यसअघि जस्तो शिक्षकहरु घरमै बसेर हाजिर गरी तलब खाने अवस्था छैन् । संघीय सरकारको सहयोगमा विद्यार्थीलाई दीवा खाजा कार्यक्रम संचालनमै रहेका छन् । गरिबका कारण भने अझै केही बालबालिका विद्यालय आउन सकेका छैनन् भने किशोर अवस्थाका व्यक्ति बिचमै पढाइ छाड्न बाध्य छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफूहरु निर्वाचित भएर आउनुअघि र अहिले विद्यालयको अवस्था निकै परिवर्तन भइसकेको दावी गर्छन् । पहिले जस्तो विद्यालय नखुल्ने र खुले पनि आधा दिन मात्र पढाई भएर बन्द गर्ने परिपाटी नरहेको उनी दावी गर्छन् ।

“हामी निर्वाचित भएर आउनुअघि यहाँ विद्यालयहरुको अवस्था लथालिंग थियो, हाफ टाइमपछि विद्यालयमा विद्यार्थी र शिक्षक कोही पनि हुँदैनथे” उनले भने, “अहिले अवस्था धेरै फेरिएको छ ।” शिक्षाकै अवस्था सुधार गर्न गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरेपछि २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँसहित सम्मान गर्दै आइरहेको छ । चन्द्रनगरकी किशोरी अस्मिता कुशवाहा गाउँपालिकाको यो अभियानले एकातर्फ वालविवाह रोकिएको र अर्कोतर्फ शिक्षा क्षेत्रमा पनि सुधार आएको बताउँछिन् । गाउँपालिकाको यो अभियानपछि धेरै छोरीहरु विद्यालय जान थालेका र अभिभावकले पनि छोरीहरुलाई पढाउनुपर्छ भन्ने धारणा व्यक्त गर्न थालेका कुशवाहाको भनाइ छ । “शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाको यो अभियान सराहनिय नै छ,” उनले भनिन, “गरिब र विपन्न वर्गका छोरीहरुलाई विद्यालयसम्म आउन वातावरणका लागि पनि सहयोग गर्नुपर्छ ।”


प्रतिक्रिया