अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
- शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर आङ्देम्बेले सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नगर्न विपक्षी दलहरूको तर्फबाट राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका हुन्।
- भेटका क्रममा आङ्देम्बेले सरकारले ल्याउन लागेको विवादित अध्यादेशको विषयमा विपक्षी दलहरूले गरेको साझा निर्णयबारे राष्ट्रपतिलाई जानकारी गराए।
१९ वैशाख, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर आङ्देम्बेले सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नगर्न विपक्षी दलहरूको तर्फबाट राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका हुन्। भेटका क्रममा आङ्देम्बेले सरकारले ल्याउन लागेको विवादित अध्यादेशको विषयमा विपक्षी दलहरूले गरेको साझा निर्णयबारे राष्ट्रपतिलाई जानकारी गराए। सरकारले संसद्लाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै विपक्षी दलहरू त्यसलाई तत्काल रोक्नुपर्ने पक्षमा उभिएका छन्। संसद् अधिवेशन बोलाउने समयमा अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको भन्दै आङ्देम्बेले विपक्षी गठबन्धनको सन्देश शीतल निवासमा पुर्याएका हुन्।

यसअघि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो। उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू सहभागी थिए । गठबन्धनको उक्त बैठकले सरकारले सिफारिस गरेको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने र चाँडोभन्दा चाँडो सङ्घीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गर्ने साझा निष्कर्ष निकालेको थियो। सोही संयुक्त निर्णय र विपक्षी दलहरूको आधिकारिक धारणा बोकेर आङ्देम्बे शीतल निवास पुगेका हुन्।

सरकारले संसद् अधिवेशन बोलाउन ढिलाइ गर्ने र अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै विपक्षी दलहरूले पछिल्लो समय तीव्र असन्तुष्टि जनाउँदै आएका छन्। संसद् सुचारु नभएको अवस्थामा संवैधानिक नियुक्तिहरूमा आफू अनुकूल निर्णय गराउन सरकारले अध्यादेशको बाटो रोजेको विपक्षी दलहरूको आरोप छ।


प्रतिक्रिया