महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४ चैत, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष चूडामणि पोखरेलसहित २४ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बर्दिबास नगरपालिका वडा नम्बर १ का केही स्थानीयले दर्तावाला जग्गाका रुखहरू भनी रम्तेल डाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारबार गरेका थिए । आयोगले उनीहरूविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो कायम गरेको छ ।
आयोगले अधिकृत साह र वडा अध्यक्ष पोखरेलका साथै तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सव-डिभिजन वन कार्यालय बर्दिबास, तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि मुद्दा दायर गरेको छ । यसैगरी नापी कार्यालय, बर्दिबास महोत्तरीका तत्कालीन अमिन रामदरश राउत, तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ की तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यस्तै, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ्गविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । यस्तै, बर्दिबास नगरपालिका १ का जग्गा धनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।
Post Comment