३० फाल्गुन २०८२, शनिबार

चैत ४ देखि सुरु हुँदै तेस्रो लालबन्दी महोत्सव

 

सर्लाही, ३० फागुन ।

सर्लाहीको लालबन्दीमा तेस्रो लालबन्दी महोत्सव चैत ४ देखि १५ गतेसम्म आयोजना हुने भएको छ। उद्योग वाणिज्य संघ लालबन्दीले हिजो शुक्रबार पत्रकार सम्मेलन गर्दै “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको जनाएको हो। महोत्सव लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा सञ्चालन हुनेछ।

महोत्सव व्यवस्थापन समितिका संयोजक तथा उद्योग वाणिज्य संघ लालबन्दीका पूर्वअध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीका अनुसार १२ दिनसम्म चल्ने महोत्सवमा करिब १ लाख २० हजार दर्शक आउने अपेक्षा गरिएको छ। करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ भने आयोजनाका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। महोत्सवमा कृषि उत्पादन, औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल, घरेलु तथा हस्तकला प्रदर्शनी, होटल–रेस्टुरेन्ट सेवा, स्थानीय पर्यटन प्रवर्द्धन तथा होमस्टे अवधारणा सम्बन्धी कार्यक्रम राखिने आयोजकले जनाएको छ। साथै राष्ट्रियस्तरका कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। करिब १५० स्टल रहने बताइएको छ। उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोका अनुसार महोत्सवको उद्घाटन चैत ४ गते मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले गर्ने कार्यक्रम तय गरिएको छ।

Post Comment

छुटाउनुभयो कि ?