वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
२५ पुस, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे । जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए । तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।





Post Comment