चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
२६ मंसिर, रौतहट ।
चन्द्रपुर नगरपालिकाले स्ट्रिट चाइल्ड अफ नेपाल र आसमान नेपालसँगको सहकार्यमा सक्षम परियोजना अन्तर्गत विद्यालयका विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। शुबलाल भागवत माध्यमिक विद्यालय, चन्द्रपुर–८ मा आयोजित शिविरको उद्घाटन नगर उपप्रमुख जयमाला कुमारी चौधरीले गर्नुभयो।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, GIEN प्रतिनिधि, शिक्षक, अभिभावक तथा सहकार्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शिविरमार्फत चन्द्रपुर नगरपालिकाका ४६ विद्यालयमा अपाङ्गता प्रारम्भिक पहिचान (Early Screening) क्रममा पहिचान गरिएका करिब १५४ भन्दा बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूको सहयोगमा दृष्टि, सुनाइ, हिँडडुल, मानसिक तथा मनोसामाजिक सम्बन्धी समस्याहरूको विस्तृत परीक्षण गरिएको थियो। आवश्यकता अनुसार औषधि तथा परामर्श सेवा पनि प्रदान गरियो।

स्वास्थ्य परीक्षणपछि करिब ६५ भन्दा बढी विद्यार्थीमा थप जटिल समस्या देखिएपछि रेफरल सेवा, अपाङ्गता परिचयपत्र, व्यवस्थापकीय तथा शैक्षणिक सहयोग आवश्यक रहेको निष्कर्ष निकालिएको छ। उपप्रमुख चौधरीले बालबालिकामा समयमै स्वास्थ्य समस्या पहिचान गरी सम्बोधन गर्न यस्तो शिविर महत्वपूर्ण रहेको बताउँदै, समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नगरपालिकाले निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले स्ट्रिट चाइल्ड अफ नेपाल र आसमान नेपालप्रति निरन्तर सहकार्यका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो।




Post Comment