स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
२५ मंसिर, काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो विषय नभएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका हुन् । देशको समग्र राजश्व संरचनामा वृद्धि भए पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुन सक्ने भन्दै यसलाई एकैपटकमा सुधार गर्न नसकिने उनको धारणा छ । स्वास्थ्य बिमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने र स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको पनि प्रस्ट पारे । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको पनि उनले जानकारी दिए । “विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न मिल्दैन । स्वास्थ्य बिमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्छ । तर, राज्यले धान्न नसक्ने संरचना राख्न भने हुँदैन ।”

यस्तो छ उनको धारणा
गभर्मेन्टको रिसोर्सको साइज बढ्दै जाने तर हेल्थमा, एजुकेसनमा गरिएको एलिकेसन घट्दै जानु राम्रो होइन । त्यो कमजोरी अर्थ मन्त्रालयले गर्यो अथवा राष्ट्रिय योजनाले गर्यो अथवा प्रणालीमा हामीले सहकार्य गरेर गर्न सकेनौँ । त्यो हाम्रो गल्ती भयो । अब यो एकै वर्षमा एकैछिनमा करेक्सन गर्न सकिँदैन । स्वास्थ्यमन्त्रीलाई उहाँ मन्त्रीमा बहाली भएको दिनमै स्वास्थ्य बिमाको सबै भुक्तानी गरौँ भनेर उहाँलाई भने ।

सरकारले प्रतिबद्धता गरेको स्वास्थ्य बिमाको बाँकी रहेको रकम चाहीँ भुक्तानी गर्नुपर्छ । सरकार भनेको निरन्तरता हो । अगाडिको सरकारले बाँकी राख्यो म तिर्न सक्दिनँ भनेर भन्न हुँदैन भनेर मैले भनिरहेको छु, आज नि त्यही भन्दै छु । तर, हामीले धान्न नसकिने प्रमिस गरेर त्यसपछि स्वास्थ्यसंस्था चाहिँ पैसा नपाएको कारणले सेवा नै दिन नसक्ने पुगे भने त्यो पनि राम्रो भएन । स्वास्थ्य संस्थाले सेवा दिन सक्ने गरी उनीहरूलाई वित्तीय पहुँच पुर्याउनुपर्छ । त्यो वित्तीय पहुँच पुर्याउने क्रममा हाम्रो स्वास्थ्य बिमा ज्यादै कमजोर छ, हामीले धान्न नसकिने किसिमको छ भने त्यसलाई रिभ्यु गर्नुपर्छ ।



Post Comment