आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी
१८ मंसिर, काठमाडौं ।
चर्चित भारतीय कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल) मा कमेन्ट्री गर्न थालेका छन् । बुधबार काठमाडौं आएका उनी बिहीबार पोखरा एभेञ्जर्स र काठमाण्डू गोर्खाजबीचको प्रतिस्पर्धामा भारतीय पत्रकार मिखाइल वासवानीसँगै कमेन्ट्री बक्समा देखिएका हुन् । पोखरा र काठमाण्डूबीच खेल सुरु हुनुअघि मिखाइलले आकाश र दक्षिण अफ्रिकी कमेन्टेटर एचडी अकरम्यानसँग कुरा गरे । यस क्रममा आकाशले पहिलोपल्ट नेपाल भ्रमण गर्न पाउँदा असाध्यै खुसी लागेको बताए ।

उनले भने, ‘यहाँ आउन पाउँदा म निकै उत्साहित छु । यो मेरो पहिलो भ्रमण हो र यहाँ क्रिकेटप्रति रहेको उत्साह साँच्चै बेजोड छ भन्ने महसुस भएको छ । क्रिकेटप्रति यतिसम्मको माया यहीँबाट देखिन्छ ।’ उनले नेपाल अब टी-२० विश्वकपका लागि भारत आइरहेको र यसलाई लिएर पनि आफू उत्साहित भएको बताए । ‘यसअघि पनि नेपाल टी–२० विश्वकपको पछिल्लो संस्करणमा खेलेको थियो’, आकाशले भने ।

कुराकानीका क्रममा मिखाइलले नेपाली फ्यानले नेपाली स्टाइलमा स्वागत गर्न चाहेको भन्दै आकाशलाई नेपालीमै पढेर एक सन्देश सुनाए, ‘नेपाल र नेपाली फ्यानहरूको तर्फबाट यो सुन्दर देश नेपालमा स्वागत छ आकाश चोपडा ।’ यस्तो सन्देश सुनेर मुस्कुराउँदै आकाशले नेपालीमै भने, ‘धन्यवाद नेपाल ।’ उनले नेपालमा हुन पाउनु साँच्चै मन छुने अनुभव भएको प्रतिक्रिया दिए । यति धेरै मानिसहरूले आफूप्रति माया र आशीर्वाद देखाइदिएको भन्दै उनले खुसी व्यक्त गरे । ‘यो सुन्दर देशमा हुन पाउँदा म साँच्चै धन्य महसुस गरिरहेको छु’, उनले भने । यसपछि मिखाइलले छेउमै रहेका अर्का कमेन्टेटर एचडी अकरम्यानलाई ठट्यौली पारामा सोधे, ‘शुभ प्रभात एचडी, तपाईंको अनुहारमा गज्जबको मुस्कान छ त ?’



Post Comment