राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
२ मंसिर, काठमाडौं ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य विचार मिल्ने दल समूहसँग चुनावी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ । गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको हो । राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल जारी नै रहेकोले यथाशीघ्र टुंगो लगाउने र सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनका लागि दल दर्ता पनि गर्ने निर्णय गरियो ।

साथै अन्य पार्टी र मोर्चाहरूसँग चुनावी तालमेल पनि गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा छ । पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसको प्रक्रिया पारदर्शी, समावेशी र सहभागीतामा आधारित बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिले गठन गरेको चुनावी रणनीति कार्यदलले उम्मेदवारीका लागि स्वदेशवादी विचारधारा प्रतिको प्रतिबद्धता, सामाजिक समर्पण, पार्टीका सदस्य अनिवार्य नभएको तथा जनप्रतिनिधित्व क्षमताका बिभिन्न इन्डिकेटर सहितको मापदण्ड तोकेको छ ।





Post Comment