प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
२७, कात्तिक काठमाडौँ ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको पोषण र प्रहरी सहचरी वृद्धि गर्न माग गरेका छन् । गृह मन्त्रालयमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रहरीलाई आवश्यक पोषण अभावबारे गृह प्रशासन र वर्तमान सरकार जानकार रहेको बताउँदै यसबारे ठोष निर्णय लिन माग गरेका हुन् । कार्कीले विदेशमा प्रहरी सहचरी राख्ने विषयमा समेत सरकारले आवश्यक पहल थाल्नुपर्ने बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा थुप्रै नेपालीहरू बाहिर छन्, उनीहरूको पीरमर्का र गुनासो सम्बोधन गर्न प्रहरी सहचरीको व्यवस्था गर्नुपर्छ, केही मुलुकमा सहचरी थप्नुपर्ने छ, सरकारले त्यसमा ठोस निर्णय गर्नुपर्छ ।
हाल भारतको राजधानी नयाँ दिल्लीमा मात्रै एसएसपीको कमाण्डमा प्रहरी सहचरी राखिएको छ । नेपाल प्रहरीले मलेसिया, कतार, दुबई, यूएईलगायत मुलुकमा प्रहरी सहचरी राख्न गृह मन्त्रालयलाई परिपत्र गरेको थियो । अर्थ मन्त्रालयसँग सहमति माग्दा अर्थले आर्थिक व्ययभार थपिने भन्दै सहमति नदिएपछि प्रहरी सहचरी राख्ने विषय रोकिएको थियो । महानिरीक्षक कार्कीले अव २०८४ साल चैत्र १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन् । वित्तीय अपराध र साइबर अपराध प्रहरीको लागि नयाँ चुनौती भएको बताए ।
उनले भने– ‘हाइटेक क्राइमको अनुसन्धान र व्यवस्थापन गर्नुपर्ने विविध प्रकृतिको अवस्थाबाट गुज्रिनुपर्ने अवस्था छ ।’ दार्शनिक हर्मन गोड्सेनको भनाइ सम्झिँदै उनले कुनै पनि देशको प्रहरी सेवाको गुणस्तर त्यस देशको लोकतन्त्रको गुणस्तरको मापक भएको बताए । प्रहरीको मनोबल जगाइराख्नुपर्ने अवस्था टड्कारो रहेको कुरा सबैले अनुभूत गरेको विषय भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले भने, ‘आधारभूत पोषण प्रहरीलाई अपर्याप्त रहेको विषय आजको दिनसम्म सबैले बुझेको विषय हो ।’






Post Comment