एकतर्फी खुल्यो बीपी राजमार्ग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
एकतर्फी खुल्यो बीपी राजमार्ग

सारांश

  • लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
  • असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो ।
  • सोमध्ये करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।

२४ असोज, काठमाडौं ।

लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो । सोमध्ये करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सडक दुईतर्फी सञ्चालन आइतबारदेखि सुरु हुनेछ। सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण गरी बगर मिलाउने, खाल्डा पुर्ने र क्षतिग्रस्त भागमा अस्थायी पुनर्निर्माणका काम गरिएको हो । सडक मर्मत कार्य सोमबारदेखि सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडालाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । त्यसका साथै कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो र तल्लो) तथा मान्ती (माथिल्लो र तल्लो) क्षेत्रमा पनि सडक भत्किएको थियो। सिन्धुलीतर्फ बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) नजिक पनि क्षति पुगेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको निरीक्षण गरेका थिए । उनले मर्मत कार्य तीव्र बनाउन थप जनशक्ति र उपकरण परिचालन गर्न तथा बत्तीको व्यवस्था गरी राति पनि काम सञ्चालन गर्न निर्देशन दिएका थिए । गत वर्षको असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन यसपटकको बाढीले सबै बगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?