जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
२२ असोज, काठमाडौं ।
नेकपा एमालेका नेता महेश बस्नेतले भदौ २३ गते जेनजीले भ्रष्टाचार, नेपो बेबीको विरुद्धमा चलाएको बताएका छन्। आज एमाले हेडक्वाटरमा पत्रकार सम्मेलन गर्दै जेनजीले शान्तिपूर्ण आन्दोलन गरेपनि बिचमा घुसपैठ गरेपछि विध्वंशमा परिणत भएको बताएका हुन्। उनले भने, ‘जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका थिए। भ्रष्टाचारको विरुद्ध, नेपो बेबीको विरुद्ध अभियान चलाएका थिएँ। त्यसको विरोध गरेका थिए।

तर बिचमा घुसपैठ भएको थाहा भएपछि उनीहरुले नै प्रदर्शनकारीलाई फिर्ता हुन आग्रह गरे। तर, ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो।’ स्थायी कमिटी सदस्य बस्नेतले सार्वजनिक संरचना, नेताका घर, उद्योगीको भवन ध्वस्त भएको भन्दै जेन्जी आन्दोलन बदनाम भएको उल्लेख गरे। बालेनले सिंहदरबार जलाउँछु भनेर पहिले नै भन्दै आएको तर आन्दोलनका दिन बालेनले नजलाओ भनेर स्टाटस लेखेको भए देश ध्वस्त नहुने उल्लेख गरे। उनले जनताको हित, राष्ट्रको हितका लागि एमाले अगाडि रहेको उल्लेख गरे।

बस्नेतले आगजनी तथा तोडफोडमा संलग्नलाई कारबाही गर्नुपर्नेमा अहिले गृहमन्त्रीले संरक्षण गर्न निर्देशन दिइरहेको बताए। बस्नेतले रवि लामिछानेलाई छुटाउन जाने रास्वपाका डिपी अर्याल, मनिझा झा, ज्वाला संग्रौला लगायतलाई कारबाहि गर्नुपर्ने बताए। उनले जेलबाट निस्किएका कैदीबन्दीले थप अपराध गर्न सक्ने र प्रहरीबाट खोसिएका हतियार चल्न सक्ने भएकाले उनीहरुलाई खोजेर कारबाही गर्नुपर्ने धारणा राखे।




Post Comment