खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
१७ असोज, महोत्तरी ।
महोत्तरीको खयरमारामा बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास–१० का ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोलेसहित ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लागिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । बस दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार गराइएको थियो ।
बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । हेलिकोप्टरमा राख्न अस्पतालबाट सशस्त्र प्रहरीको एम्बुलेन्समा राखेर घाइतेलाई शुभ स्वस्तिक अस्पतालबाट बाहिर निकालिएको अस्पतालले जनाएको छ ।
शुक्रबार बिहान घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जान लागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमारा स्कुलअगाडि बसको ठक्करबाट पैदल यात्रु चुल्हाई चौधरी र दुर्घटनामा घाइते भएका सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्काको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि बस चालक फरार छन् ।






Post Comment