२६ भाद्र २०८२, बिहीबार

चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी

१३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो ।  भोलि (भदौ १४) गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन भ्रमणमा जाँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् ।

त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहने बताइएको छ । एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ ।

त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् । मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् । त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ ।

सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्ने छन् । त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment