देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
११ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभएको छ । आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताउनु भयो । जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरुमाथि कुनै आरोप लगाउन नहुने बताउनु भयो ।
विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभइ देशको नेता भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योगदानलाई कदर गर्ने सम्बन्धमा यो पार्टी र त्यो पार्टी गर्नु हुँदैन भन्ने मेरो विश्वास छ । त्यसैकारण मैले शहीदहरुको सन्दर्भमा २०२० सालमा मारिनुभएका शहीद दुर्गानन्द झालाई शहीद मानिएको थिएन । शहीद भनेको मेरो र तेरो हुँदैन । नेता नमरुन्जेल मेरो र तेरो हुनसक्छ । तर मरेपछि नेता सबैको हो । विपी कोईराला बाँचुन्जेल नेपाली काँग्रेसको हुनुहुन्थ्यो अब नेपालको नेता हो । पुष्पलाल अब नेकपाको नेता होइन, बाँचुन्जेल नेकपाको नेता हुनुहुन्थ्यो । अब उहाँ देशको नेता हो ।
गणेशमान अब देशको नेता हो । उहाँले गरेका योगदानले सिंगो नेपाललाई फलिफाप भएको छ भने काँग्रेसको मात्र नेता कसरी हुन्छ ? गणेशमा, विपी कोईराला मेरो नेता किन होइन ? देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न हुँदैन । त्यो देशको नेता हो । मदन भण्डारी अब एमालेको नेता होइन, उहाँ देशको नेता हो । आफ्नो जीवन देशका लागि आहूति गर्नेहरुको सन्दर्भमा फराकिलो दृष्टिकोण लिनुपर्छ । सबै नेताहरुको सम्बन्धमा साँघुरो दृष्टिकोण राख्नु हुँदैन । उहाँहरुको सन्दर्भमा अब हामीले कुनै नकारात्मक टिप्पणी गर्नु हुँदैन, कुनै आरोपित गर्न हुँदैन । किनभने उहाँहरु जवाफ दिन हुनुहुन्न उहाँ ।’ प्रधानमन्त्री ओलीले देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न नहुने बताउनु भयो ।
Post Comment