दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
२६ असार, काठमाडौं ।
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध डिसेम्बर ३ मा सैन्य कानुन (मार्सल ल) लागु गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । बिहीबार बिहान पक्राउ पुर्जी जारी गरिएको दक्षिण कोरियाली समाचार एजेन्सी जनाएको छ । यून बुधबार सियोलको एक अदालतमा अभियोजकले अनुरोध गरेको पक्राउ पुर्जीको समीक्षाका निम्ति सात घण्टा लामो सुनुवाइमा उपस्थित भएका थिए । त्यसपछि अदालतको निर्णयको पर्खाइमा उनलाई हिरासत केन्द्रमा लगिएको थियो ।
रूढिवादी यूनलाई दक्षिण कोरियाको संवैधानिक अदालतले गएको अप्रिलमा सैन्य कानुन लागु गर्ने प्रयास र अधिकारको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति पदबाट हटाएको थियो । संसद्ले डिसेम्बर १४ मा यूनलाई महाभियोग लगाउने मतदान गरेको थियो । तर, त्यसनिम्ति संवैधानिक अदालतको स्वीकृति आवश्यक थियो । यूनलाई यसअघि जनवरीमा राष्ट्रपति रहँदा पक्राउ गरिएको थियो । मार्चमा उनको पक्राउ रद्द भएपछि रिहा गरिएको थियो । तर, उनले प्रमाण नष्ट गर्न सक्ने जोखिम भएको भन्दै सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार पक्राउ गर्नुपर्न आदेश दिएको हो ।
आइतबार यूनविरुद्ध पक्राउ पुर्जीका निम्ति अनुरोध पेस गर्नुअघि उनीसित दुईपटक सोधपुछ गरिएको थियो । यूनका वकिलले उक्त अनुरोध अत्यधिक र आधारहीन भएको बताएका थिए । पूर्वराष्ट्रपति यूनमाथि सत्ताको दुरुपयोग, आधिकारिक कागजात नक्कली बनाएको, दक्षिण कोरियामा सैन्य कानुन लागु गर्ने प्रयासलगायत आरोप लगाइएको छ । उनले यी आरोप अस्वीकार गरेका छन् । सैन्य कानुन लागु गर्ने उनको प्रयास असफल भएको थियो । किनभने, प्रदर्शनकारी र सांसदले सैनिकको अवज्ञा गर्दै दक्षिण कोरियाको संसद्मा तुरुन्तै पुगेका थिए । र, सांसदहरूले सैन्य कानुनको आदेश खारेज गर्न मतदान गरेका थिए । अलजजिराबाट ।
Post Comment