१२ चैत्र २०८२, बिहीबार

चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो

२२ असार, काठमाडौैं । 

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार सञ्चालन र भावी रणनीतिमा गम्भीर कमजोरी रहेको औंल्याउँदै अब व्यापक आत्ममूल्यांकनको आवश्यकता भएको बताएका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै भण्डारीले दुई ठूला दलको सहकार्यमा बनेको सरकारमा कांग्रेस सहभागी हुँदासमेत जनअपेक्षा अनुसारको काम हुन नसकेको बताए । उनले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै भने, ‘हाम्रा नेताहरू पद त लिन्छन्, तर काम गर्दैनन् ।  सरकार अहिले गोठालाले घाँस नकाट्दा भैँसी भोकै परे जस्तो अवस्थामा छ ।’

आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै उनले गठबन्धनको सट्टा कांग्रेसले अब एकल प्रतिस्पर्धाको रणनीति बनाउनु पर्ने धारणा राखे । ‘गठबन्धनले कांग्रेसलाई घाटा भयो, अब हामी आफ्नै बलमा जित्नेगरी अघि बढ्नुपर्छ,’ उनले स्पष्ट पारे । भण्डारीले नेतृत्व हस्तान्तरणको बेला आएको उल्लेख गर्दै नयाँ पुस्ताले अब पार्टीको बागडोर सम्हाल्नुपर्ने बताए । ‘अघिल्लो पुस्ता बिदा हुँदैछ, अब पछाडिको पुस्ताले कांग्रेस हाँक्नुपर्छ,’ उनले भने । पार्टीभित्रका विवाद, कमजोरी र रणनीतिक अस्पष्टता बारे खुलेर समीक्षा गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘झगडा त सबै दलमा हुन्छ, तर हामीले आफ्ना भित्री र बाहिरी गल्तीहरू पहिचान गरेर सुधार गर्न सक्नुपर्छ,’ उनले भने ।

Post Comment

छुटाउनुभयो कि ?