गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
२२ असार, गाजा।
गाजामा बस्ने प्यालेस्टाइनीहरूलाई त्यहाँबाट हटाउनका लागि बोस्टन कन्सल्टिङ ग्रुप नामक अमेरिकी कम्पनीले ५ अर्ब डलर खर्च गर्ने योजना बनाएको खबर दिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध सकिएपछि गाजापट्टिलाई विलासी रिजोर्ट क्षेत्र बनाउने अवधारणा अघि सारेपछि उक्त कम्पनीले त्यसका लागि योजनाहरू बनाएको हो । बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले प्रोजेक्ट अरोराको योजना निर्माणका लागि सात महिना र ४० लाख डलर खर्च गरेको थियो । त्यस योजनालाई इजरायल र अमेरिकाले समर्थन गरेका छन् ।

५ लाखभन्दा बढी प्यालेस्टाइनीहरूलाई गाजाबाट विस्थापित गर्ने कदम त्यस योजनाको केन्द्रमा छ । प्रत्येक प्यालेस्टाइनीलाई ९ हजार डलर दिएर हटाउने योजना बनाइएको छ । त्यसको कुल खर्च ५ अर्ब डलर हुनेछ । अहिले प्यालेस्टाइनीहरूलाई गाजामा बस्न दिएर सहयोग उपलब्ध गराउनुभन्दा यो लगानी सस्तो पर्ने बताइएको छ । यसलाई मूर्त रूप दिनका लागि गाजा ह्युमानिटेरियन फाउन्डेशन (जीएचएफ) नामक संस्था खोलिएको छ । त्यसलाई अमेरिकाका सुरक्षा कम्पनीहरूले सञ्चालन गरेका छन् र इजरायली सेनाले सुरक्षा दिइरहेको छ । अमेरिकाले त्यसका लागि ३ करोड डलर लगानी गरिएको घोषणा गत साता गरेको थियो । जीएचएफले गाजामा ४ वटा सहायता वितरण केन्द्र चलाइरहेको छ ।
ती केन्द्रहरूमा सहायता लिन पुगेका ४०० भन्दा बढी प्यालेस्टाइनीहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली हानेर हत्या गरिसकेको गाजाका स्वास्थ्य अधिकारीहरू बताउँछन् । संयुक्त राष्ट्रसंघले यस सहायता वितरण केन्द्रलाई इजरायलको युद्ध लक्ष्यको बाहिरी आवरणका रूपमा लिएको छ । बीसीजीको टोलीले बन्दोबस्तीको सामान, ठेक्का बोलपत्र र खाद्यान्न खरिद लगायतका विषयमा सल्लाह दिने गरेको छ । फाइनान्सियल टाइम्सका अनुसार, गाजावासीहरूलाई गोली हानेर लखेट्नुका साथसाथै पैसा दिएर पनि विस्थापित गराउन बीसीजीको योजना अघि बढाइएको हो ।
Post Comment