१५ असार २०८२, आईतवार

विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा

२९ जेठ, काठमाडौं ।

विश्वव्यापी सर्वेक्षण संस्था प्यु रिसर्च सेन्टरले सोमवार जारी गरेको धर्मावलम्बीहरूको संख्यासम्बन्धी रिपोर्टमा हिन्दूहरू चौथो स्थानमा रहेका छन् । सन् २०१० देखि २०२० सम्मको अवधिमा इस्लाम धर्मावलम्बीको संख्या द्रुत गतिमा बढेको र क्रिस्चियनहरूको संख्या ह्‌वात्तै घटेको पाइएको छ । आश्चर्यको कुरा त, कुनै पनि धर्म नमान्नेहरू तेस्रो स्थानमा रहेका छन् । प्युको प्रतिवेदन तयार पार्नका लागि २०१ देशमा २७ सयभन्दा बढी जनगणना र सर्वेक्षणहरूलाई आधार बनाइएको थियो ।

त्यसमा जन्म, मृत्यु, आप्रवासन र धर्म परिवर्तन लगायतलाई मानक बनाइएको थियो । त्यसअनुसार, अघिल्लो दशकमा मुसलमानहरूको संख्या ३४.७ करोडले बढेको थियो । त्यो अन्य सबै धर्मावलम्बीको वृद्धिभन्दा निकै बढी हो । सन् २०२० सम्ममा विश्व जनसंख्यामा मुसलमानहरूले २५.६ प्रतिशत भाग ओगटेका छन् । मुस्लिमबहुल देशहरूमा जन्मदर बढी भएका कारण पनि जनसंख्यामा वृद्धि भएको हो । तर, यति हुँदा पनि क्रिस्चियनहरूको संख्या अहिले पनि सबभन्दा बढी छ । उनीहरूको संख्या २.३ अर्ब भए पनि पहिलेको तुलनामा उनीहरू १.८ प्रतिशत घटेका हुन् । विश्वको कुल जनसंख्यामा क्रिस्चियनहरू २८.८ प्रतिशत छन् । प्रमुख धर्महरूमध्ये बौद्धको संख्या सबभन्दा धेरै घटेको छ । उनीहरूको संख्या लगभग २ करोडले घटेर जम्मा ३२.४ करोडमा झरेको छ । विश्व जनसंख्यामा उनीहरूले ४.१ प्रतिशत भाग मात्र ओगटेका छन् । बौद्ध धर्म मान्ने मुलुकहरूमा न्यून जन्मदर र धर्मपरिवर्तनका कारण उनीहरूको संख्या घटेको हो । हिन्दूहरूको संख्या चाहिँ लगभग स्थिर छ ।

सन् २०१० देखि २०२० सम्ममा संसारभरि हिन्दूहरूको संख्या १२.६ करोडले बढेर लगभग १.२ अर्ब पुगेको छ । कुल जनसंख्यामध्ये हिन्दू १४.९ प्रतिशत छन् । हिन्दू धर्म त्यागेर अर्को धर्म अपनाउनेको संख्या निकै कम रहेको प्यु सर्वेक्षणले देखाएको छ । हिन्दू परिवारमा जन्मेका १०० व्यक्तिमध्ये एकजनाले मात्र हिन्दू धर्म त्यागेको पाइएको छ । अझ, अन्य धर्म छोडेर हिन्दू धर्म अपनाउनेको संख्या पनि लगभग त्यति नै छ । विश्वभरि रहेका हिन्दूमध्ये लगभग ९५ प्रतिशत भारतमा छन् भने अत्यधिक हिन्दू (९९ प्रतिशत) एसिया प्रशान्त क्षेत्रमै बस्छन् । उत्तर अमेरिका र पश्चिम एसियामा हिन्दूहरूको संख्या बढेको छ । यस सर्वेक्षणमा देखिएको सबभन्दा अनौठो कुरा भनेको कुनै पनि धर्म नमान्ने व्यक्तिको संख्या ह्‌वात्तै बढेको छ । नास्तिक, ईश्वरको अस्तित्वमा शंका गर्नेहरू र कुनै पनि धर्म नमान्ने व्यक्तिहरूको संख्या सन् २०१० देखि २०२० सम्ममा २७ करोडले बढेर १.९ अर्ब पुगेको छ । क्रिस्चियन र मुस्लिम धर्मावलम्बीपछि धर्म नमान्नेहरू सबभन्दा बढी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment