१५ असार २०८२, आईतवार

तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी

२९ जेठ, काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भएर पनि हाजिर हुन नगएका चार सय कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।हालै स्वास्थ्य तथा जनसंख्यामन्त्रीले यस्तो निर्णय गरेका हुन्। निर्णयअनुसार सम्बन्धित कर्मचारीलाई चेतावनी पत्र पठाइसकिएको मन्त्रालयका प्रशासन विभाग प्रमुख क्रषि आचार्यले बताए। उनका अनुसार बुधबार सबैजसो यस्ता कर्मचारीलाई चेतावनी पत्र पठाइएको छ।

सम्बन्धित अस्पतालमा तीन दिनभित्र हाजिर नगरेमा मन्त्रालय फिर्ता ल्याइने र सेवासुविधावातपको रकम असुलउपर गरिनेलगायतका विषय उल्लेख गरी पत्र पठाइएको प्रशासन विभागका अधिकृत विनोद ढकालले बताए। संघीय अस्पतालहरूमा सरुवा भएका कर्मचारीले रमाना नलिने, हाजिर गरेपछि अध्ययन बिदा या काजबिदा लिएर राजधानीका विभिन्न अस्पतालमा थुप्रिने प्रवृत्तिले दुर्गम तथा उपत्यकाभित्र र बाहिरका संघीय अस्पतालहरूमा सेवा प्रवाहमा कठिनाइ परेको ढकालले बताए। उनले भने, ‘आज मात्र शुक्रराज अस्पतालबाट रेडियोलोजिस्ट नभएको गुनासो आएको छ।’ अस्पतालहरूबाट धेरै गुनासो आएपछि दोस्रो चरणको पत्र पठाइएको ढकालले बताए।

काठमाडौंको कान्ति बाल र शुक्रराज ट्रपिकलमा भएका कर्मचारी पनि नजिककै संघीय अस्पतालमा काजमा जाने प्रवृत्तिले थप समस्या निम्तिएको प्रशासन विभागको भनाइ छ। दुर्गम र उपत्यका बाहिरका संघीय अस्पतालबाट काजमा आएका, अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मी तथा कर्मचारी धेरैजसो वीर अस्पताल र अन्य ठूला अस्पतालमा थुप्रिएको अधिकृत ढकालले बताए। ‘धेरैजसो वीरमै थुप्रिएका छन्’, उनले भने। सकेसम्म दुर्गममा जान नमान्ने र गए पनि ६ बर्से लामो अध्ययन बिदा या काजमा आई राजधानीमा थुप्रिँदा अति आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न कठिन परेको गुनासो आउने गरेको उनले बताए।

अधिकृत ढकालका अनुसार सबै स्वास्थ्य कर्मचारी राजधानीमा थुप्रिँदा कतै कर्मचारी अपुग भएर सेवा नै प्रभावित हुने गरेको छ। ‘कुनै अस्पतालमा शल्यक्रिया गर्ने चिकित्सक नै राजधानी आएर बसिदिएपछि शल्यक्रिया सेवा नै प्रभावित भएको हुन्छ’, उनले भने। दुर्गममा खटाइएको स्वास्थ्यकर्मी रमाना गर्नेबित्तिकै हाजिर गर्ने र केही समय बसेपछि तुरुन्तै अध्ययन बिदामा बस्दा जनशक्तिको कमी हुने समस्या जारी रहेको उनले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पत्र पाएपछि कार्यान्वयन नगर्ने कर्मचारीलाई कारबाही गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment