२७ जेष्ठ २०८२, सोमबार

पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध

२६ जेठ, पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट र वडा नम्बर–३, रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा पुष्टि भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । रिमिघा लेकमा गएको साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो ।

उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर त्यो क्षेत्रमा प्रवेश निषेध गरेको हो । प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुुप्रसाद भण्डारीले जानकारी दिए । “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, “तर, त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।” एक हजार ८०० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिका दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ । समुद्री सतहबाट विशेष गरी तीन हजार ५०० देखि पाँच हजार ५०० मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सकका अनुसार, यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?