भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
१९ जेठ, काठमाडौं ।
एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अंक प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमी आउन नदिन कर्मचारीले इमानदार भएर काम गर्नुपर्ने बताए ।
अस्पतालमा न्युरो सेवा सञ्चालन गर्न मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै उनले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले एक सय २१ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्त्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताइन् । भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रूपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको बताइन् ।
Post Comment