नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
१५ चैत, काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्म नेपालमा सडकको कुल लम्बाइ ३६,१३२ किलोमिटर पुगेको छ। ‘विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, ८ हजार २०४ किलोमिटर खण्डास्मित र ८ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,’ सर्वेक्षणमा उल्लेख छ,
‘२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्र, ८ हजार ०२४ किलोमिटर खण्डास्मित र ८ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको कुल लम्बाइ ३५ हजार ४९० किलोमिटर थियो।’ सर्वेक्षणअनुसार मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १ हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म १ हजार ४५२ किलोमिटर कालोपत्र भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर कालोपत्र भई १ हजार ४६३ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माण सम्पन्न भएको छ।हुलाकी लोकमार्गको कुल लम्बाइ १ हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म १ हजार २५९ किलोमिटर कालोपत्र भएकोमा चालु
आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर कालोपत्र भई १ हजार २९१ किलोमिटर पुगेको छ। यसअन्तर्गतका २५० पुलमध्ये १४२ पुलको निर्माण २०८१ फागुनसम्म सम्पन्न भएको छ। उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ ४४७ किलोमिटरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड २४५ किलोमिटर सडकमध्ये २०८१ फागुनसम्म १९५ किलोमिटर कालोपत्र भएको छ। मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत २०८१ असारसम्म ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र र १० पुलको निर्माण सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ६५ किलोमिटर सडक कालोपत्र र १३ पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ।
Post Comment