महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
१२ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाइएको छ । उनीहरुले ७ दिनभित्र बैठक राख्न मेयर शाहसँग माग गरेका छन् । पुस १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उनीहरुले तत्काल बैठक राख्न माग गरेका हुन् । झण्डै ६ महिनादेखि नगर कार्यपालिकाको बैठक बस्न सकेको छैन । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्नु पर्ने भए पनि शाहले बैठक बोलाएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तिमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था भए पनि मेयर शाहले त्यसलाई लत्याएका हुन् ।के हो विवाद ? पछिल्लो ममय काठमाडौं महानगरमा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको द्वन्द्वका कारण समस्या देखिएको छ ।कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान ऐनमा छ । नगर प्रमुखले सभा र कार्यपालिका बैठकमा कार्यसूची पेस गर्नुपर्ने छ भने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य हुने व्यवस्था छ।
नगर प्रमुखले कार्यपालिका बैठक आह्वान भएको सूचना अन्य सदस्यको हकमा प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने र प्रमुख प्रशासकीय अधिकृतले बैठक आह्वान भएको सूचना कार्यपालिका सदस्यलाई दिने व्यवस्था छ । तर, बालेन त्यो चाहँदैनन्। काठमाडौं टावरको नक्सा पासका विषयमा बालेन र गुरागाईंबीच समस्या देखिएको छ । बालेनले गुरागाईंलाई कारबाही गर्दै संघीय सरकारसँग नयाँ प्रशासकीय अधिकृत माग गरेको थियो तर पठाएन र उनैलाई हाजिर गराउन पत्र काट्यो । त्यसपछि गुरागाईँ महानगरमा हाजिर गर्न पुगे । लामो समयको तलब रोकिएपछि उनलाई कार्यालयमा स्वागत गर्न उपमेयर सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्षहरु र कर्मचारी लागेका थिए । त्यसयता गुरागाईंले काम गरिरहे पनि बालेनसँग औपचारिक छलफल हुन सकेको छैन । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । जसका कारण बालेन एक्लिने देखिन्छ ।
Post Comment