नेपाल हङकङसँग पराजित

३० वैशाख, काठमाडौं :
आइसीसी टी २० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल हङकङ चाइनासँग ७ विकेटले पराजित भएको छ। वर्षाको कारण मैदान भिजेपछि खेल ५ ओभरमा सीमित भएको खेलमा नेपालको ब्याटर नचलेपछि हार बेहोर्यो। टेरथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा २९ रन बनाएको थिए।

नेपालले दिएको ३० रनको विजयी लक्ष्य पछ्याएको हङकङले ४.३ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गर्यो। हङकङका लागि ओपनर सान्जिन शाहजादले सर्वाधिक १५ रनमा अविजित रहिन्। उनले १२ बलमा १ छक्का प्रहार गरिन्। मारिको हिलले ११ रन बनाइन्। यास्मिन दास्वानी ३ रनमा अविजित रहिन्। कप्तान नताशा मिल्स भने डक आउट भइन्। नेपालका लागि कविता कुँवरले मात्रै २ विकेट लिइन्। आजको खेलमा पूजा महतो सबैभन्दा महँगो बलर सावित भइन्। उनले २ ओभरमा १९ रन खर्चिइन्। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १० रन बनाइन्। कप्तान इन्दु बर्मा ९ रनमा अविजित रहिन्।

रुबिना क्षेत्री ४ रनमा अविजित रहिन्। हङकङका लागि मि वाइ सुले ३ विकेट लिइन्। जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ। अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ। नेपालले शीर्ष स्थानमा रहेको बहराइनलाई हराउनै पर्ने हुन्छ। नेपाललाई अब हङकङ र बहराइन बीचको खेलको नतिजाले पनि फरक पार्नेछ। नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइन बीचको खेल शुक्रबार हुनेछ।




Post Comment