माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
१६ वैशाख, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद शाहीले नैतिक हिसाबले प्रधानमन्त्री ओलीले सरकारमा बसिरहने हैसियत गुमाइसकेको बताएका हुन् ।
सांसद शाहीले देश आन्दोलनमय भइरहेका बेला प्रधानमन्त्री ओली रमिते बनेको आरोप लगाए । ‘देश आन्दोलित छ । शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडितहरू सडक आन्दोलनमा छन् । कर्मचारी पनि सडकमा जाने तयारी गरिरहेका छन्,’ उनले भने, ‘राजावादीहरूले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन् । देश अस्तव्यस्त अवस्थामा छ । तर, सरकार रमिते भएर बसिरहेको छ ।’ सांसद शाहीले सरकारले आफ्ना असक्षमताहरू लुकाउन प्रतिपक्षी दलहरूमाथि दोष थोपार्ने काम गरिरहेको पनि बताए ।
‘सरकारले आफ्ना असक्षमताहरू लुकाउन यी सबै कुराहरू प्रतिपक्षीकै कारण हुन सकेको छैन भनेर प्रतिपक्षीमाथि दोष थुपारिरहेको छ । कि त प्रधानमन्त्रीले सबै काम पूरा गर्न सक्नुपर्छ, होइन भने तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने, ‘अहिलेकै यही अवस्थामा प्रधानमन्त्रीले नैतिक हिसाबले सरकारमा बसिरहने हैसियत गुमाइसकेका छन् ।’
Post Comment