शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुरू
४ वैशाख, काठमाडौं ।
शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सि.सं.३२ कमान्ड तथा स्टाफ तालिम शुरू भएको छ । बिहीबार तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी निर्मल कुमार थापाले तालिमले तालिमरत अधिकृतलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीको विश्लेषण गरी फर्मेसन तथा युनिट तहमा व्यवहारिक योजना बनाई कार्यान्वयन गर्न सक्षम बनाउने बताए । साथै, उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीलाई अनुभव आदान-प्रदान गर्दै मित्रभावका साथ तालिमको सदुपयोग गर्न सुझाव दिए ।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका महिला ४ जनासहित ८१ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी ३ जना अधिकृत, मित्रराष्ट्र चीनको २ तथा बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी ८ विदेशीसहित जम्मा ९२ जना अधिकृतहरू सहभागी छन् ।
२०४९ पुस १४ गते स्थापना भएको सो कलेजबाट हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल, नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रका १२४ गरी जम्मा १४१५ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।
शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्वशिक्षाध्यक्षहरू, पूर्व रथीवृन्द, प्राध्यापक, विभिन्न राष्ट्रका सैनिक सहचारीलगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।
Post Comment