भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
२९ माघ, काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)ले सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
जसपाका राष्ट्रिय सभाका सांसद मृगेन्द्रकुमार सिंहका अनुसार स्वीकृतिका लागि अध्यादेश सदनमा पेश हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने देशसञ्चारलाई जानकारी दिए। संसद नचलिरहेको अवस्थामा सरकारले सहकारी सम्बन्धी सहित ६ वटा अध्यादेश जारी गरेको थियो। संघीय संसदको पहिलो बैठक बसेको माघ १८ गते ६ वटै अध्यादेश संसदमा पेश भएपनि स्वीकृतिका लागि भने पेश हुन सकेको छैन प्रतिनिधि सभामा सत्तापक्ष कांग्रेस एमालेको दुईतिहाइ नजिक बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा
निर्णायक हुँदा सरकारले स्वीकृतिका लागि अध्यादेश पेश गर्न सकेको छैन। यसअघि पटकपटक अध्यादेश स्वीकृतिका लागि पेश गर्ने तयारी गरे पनि जसपा अनिर्णित हुँदा अध्यादेशबारे अध्ययन गर्न जसपाले सांसद राजकिशोर यादवको नेतृत्वमा पाँच सदस्य कार्यदल बनाएर अध्ययन गरेको थियो। अध्ययनको सुझाव अनुसार मंगलबार बसेको संसदीय दलको बैठकले निर्णय गरेको सिंहले जानकारी दिए।
Post Comment