६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
२२ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिए। पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए। उनका अनुसार योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो। त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ। गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।