इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान
काठमाडौं।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२औं महासभामा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गो प्रस्थान गरेका छन्। तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईजीपी कुँवर आज बिहान ग्लास्गोतर्फ लागेका हुन्।
महासभा भोलिदेखि बिहीबारसम्म सञ्चालन हुनेछ, जसमा इन्टरपोलका १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभामा इन्टरपोल र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बीचको सहकार्य, आतंकवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति तथा इन्टरपोलको संविधान संशोधन जस्ता विषयमा छलफल गरिने छ।
महासभामा प्रहरीका कार्यकारी अधिकारीहरूबीच महत्वपूर्ण अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समस्याहरूको समाधानका लागि अनुभव आदानप्रदान र आपसी सहकार्यको प्रगाढताको अपेक्षा गरिएको छ। नेपाल प्रहरीका उच्च अधिकारीहरूको यो सहभागिताले अन्तर्राष्ट्रिय प्रहरी नेटवर्कमा नेपालको उपस्थिति सुदृढ गर्ने विश्वास गरिएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यस भ्रमणले नेपाल प्रहरीलाई इन्टरपोलका नवीनतम अनुसन्धान विधिहरू र प्रविधिहरूसँग परिचित गराउने अवसर प्रदान
गर्नेछ।
Post Comment