विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन
२८ असोज,काठमाडौं ।विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । आज (सोमबार) बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमाण्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमाण्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो ।
सो आधारबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो ।सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो । बर्दियाका बडुवालले २०६० सालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए । उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।
Post Comment