घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का
३१ भदौ , बाँकेमा एक बालिका बेपत्ता हुनुभएको छ । घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो ।बालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको छ । बालिका पुन आइतबार राति आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिनुभयो ।
सूचना अधिकारी बुढामगरका अनुसार आइतबार राति अन्दाजी ८ बजेको समयसम्म घरको आँगनमा खेलिरहनु भएको बालिका त्यसपछि बेपत्ता हुनुभएको थियो । उहाँका अनुसार बालिकालाई उहाँका अभिभावकले नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरको नजिकै सामुदायिक वन रहेको र उक्त वनमा बाघलगायतका जङ्गली जनावरसमेत देखिने गरेकाले बालिकालाई कुनै जङ्गली जनावरले लगेको हुन सक्ने आशङ्का गरिएको उहाँले जानकारी दिनुभयो ।
Post Comment