धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
सारांश
- सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् ।
- नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो ।
- संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ ।
१७ साउन, काठमाडौं ।
सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो । संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ । यसपटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यतामा स्नातक अनिवार्य छ । यससम्बन्धी राजपत्रकमा प्रकाशित सूचनामै भनिएको छ, ‘स्वकीय सचिवको योग्यता प्रचलित कानूनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी/तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यतासरह हुनेछ ।

कुन तहको कर्मचारी भनेर राजपत्रमा प्रकाशित सूचनामै खुलाइएको छ । जहाँ सुविधाको किसिम अन्तर्गत सांसद्का लागि प्राप्त हुने स्वकीय सचिव (रा.प.तृ.) हुने भनिएको छ । रा.प.तृ. भन्नाले नेपालको निजामती सेवामा राष्ट्रसेवक राजपत्रित तृतीय श्रेणी भन्ने बुझाउँछ । यो शाखा अधिकृत वा सो सरहको अधिकृतस्तरको पद हो । राजपत्रांकित तृतीय श्रेणी (रा.प.तृ.) शाखा अधिकृत) पदका लागि लोक सेवा आयोगले तोकेको शैक्षिक योग्यता अनुसार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । यसअनुसार सांसद्का स्वकिय सचिव नियुक्तिको निर्णय भए/नभएको हेरेर संसद् सचिवालयले जानकारीमा लिने र अखिलेख राख्न थालेको हो । यही साउन ४ गते नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । सोही बेलादेखि सांसदहरूका लागि स्वकिय सचिव नियुक्तिको बाटो खुला भएको हो ।




प्रतिक्रिया