तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।
- अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
- साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको भएको हत्याको पनि पार्टीले निन्दा गरेको छ ।

राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनामा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको दाबी गर्दै राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण गर्न नसक्दा तराई–मधेसमा तनाव बढ्न पुगेको जनाएको छ । समस्याको समाधान दमन वा गोली प्रहारबाट सम्भव नभएको उल्लेख गर्दै पार्टीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व तथा धार्मिक महोत्सवका बेला पटक–पटक हुने तनाव, हिंसा र साम्प्रदायिक विवादप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाको अवस्था तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न र सर्वपक्षीय समिति गठन गरेर संवाद प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

राप्रपाले संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको अधिकार सबै नागरिकले निर्भयपूर्वक प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । राज्यको उदासीनताका कारण देश द्वन्द्वतर्फ उन्मुख हुन सक्ने भन्दै सबै पक्षलाई विश्वासमा लिएर दीर्घकालीन शान्तिका लागि राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको जनाएको छ ।
पार्टीले २०६२÷६३ को राजनीतिक परिवर्तनपछि राज्यले अवलम्बन गरेको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक रहेको निष्कर्ष पनि बैठकले निकालेको जनाएको छ । राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र समाजको भावनात्मक एकतालाई पर्याप्त महत्व नदिँदा अपेक्षित राष्ट्रिय एकता सुदृढ हुन नसकेको र सामाजिक तथा धार्मिक तनावले पुनर्विचारको आवश्यकता देखाएको राप्रपाको धारणा छ ।
विज्ञप्तिमा राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारेको छ । नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकार सुनिश्चित गर्ने राष्ट्रिय अवधारणाका रूपमा हिन्दुराष्ट्रको विषयलाई पार्टीले निरन्तर उठाउँदै आएको उल्लेख गरिएको छ । पछिल्ला दुई दशकको अभ्यासले हिन्दुराष्ट्र नेपालको आवश्यकता पुष्टि गरेको दाबी गर्दै त्यसबारे राष्ट्रिय बहस सुरु गर्न पनि आह्वान गरिएको छ ।
राप्रपाले सम्पूर्ण नेपालीलाई संयम, सहिष्णुता, विवेक र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्दै बहुसंख्यकको सम्मान र अल्पसंख्यकको संरक्षण नेपालको स्थापित राष्ट्रिय चरित्र भएको उल्लेख गरेको छ । कुनै पनि बहानामा हुने विभाजनकारी गतिविधिले राष्ट्रिय एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा दीर्घकालीन शान्तिमा असर पुग्ने भएकाले सबै पक्षलाई जिम्मेवार बन्न पार्टीले आग्रह गरेको छ ।

प्रतिक्रिया