भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
सारांश
- भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् ।
- उनले केन्द्रीय मन्त्री जे.
- पी.
८ साउन, काठमाडौं ।
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् । उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन् । उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो । यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

उनले एक्समा लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु ।’ मेडिकल शिक्षा सम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् । यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए ।यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यराति पेपर लिक (प्रश्नपत्र चुहावट) विरुद्ध कडा सजायको व्यवस्था गर्ने कानुन ल्याइने घोषणा गरेका छन् । यससम्बन्धी कानुनको मस्यौदामाथि आज मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा छलफल हुने र कडा निर्णय लिइने उनले बताएका छन् । मन्त्रिपरिषद्को स्वीकृतिपछि उक्त विधेयक अर्को साता संसदमा पेश गरिनेछ । साथै, यसलाई छिट्टै पारित गराउने प्रयास पनि गरिने उनले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले राति ११:५२ बजे आफ्नो सामाजिक सञ्जाल एक्समा २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गरेका थिए । उक्त भिडियोमा मोदीले भनेका छन्– ‘पेपर लिक कुनै सामान्य विषय होइन । यसले लाखौँ विद्यार्थी र उनीहरूका अभिभावकलाई पीडा दिएको छ । त्यसैले पछिल्ला साढे दुई महिनामा हामीले पेपर लिक रोक्न धेरै कदम चालेका छौँ । दोषीहरूलाई पक्राउ गरिएको छ र उनीहरू अहिले जेलमा छन् । विद्यार्थीहरूको एक वर्ष खेर नजाओस् भन्ने हाम्रो जिम्मेवारी थियो । त्यसैले छोटो समयमै २२ लाख विद्यार्थीको परीक्षा सञ्चालन गर्यौँ र जुलाई १९ मा नतिजा पनि सार्वजनिक गर्यौँ ।’ उनले थप भनेका छन्, ‘हामी यतिमै सन्तुष्ट हुनेवाला छैनौँ । त्यसैले पेपर लिकसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्न निर्देशन दिएको छु । सम्बन्धित विभागहरूले गएराति ढिलो मस्यौदा पठाएका छन् । त्यसमा फास्ट ट्र्याक अदालत र कडा सजायका व्यवस्था समावेश छन् । यसबारे शुक्रबार मन्त्रिपरिषदमा छलफल हुनेछ ।’

यसअघि प्रधानमन्त्री मोदीले बिहीबार नै पेपर लिकसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गरिने बताएका थिए । यो सम्पूर्ण प्रकरण मे ३ मा सम्पन्न नीट–युजी मेडिकल शिक्षा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावटसँग सम्बन्धित हो । आज शान्तिपूर्ण प्रदर्शन गर्न ककरोच जनता पार्टीको आह्वान यही पेपर लिक प्रकरणको विरोधमा ककरोच जनता पार्टीले विगत एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएको छ । ककरोच जनता पार्टीले आज पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आह्वान गरेको छ । सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनसम्म अनशन गरेका थिए भने यस विषयलाई लिएर संसदमा सांसदहरूले पनि विरोध र नाराबाजी गर्दै आएका छन् । यसबाट मोदी सरकार रक्षात्मक बनेको छ । पेपर लिक घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ । अनुसन्धानका क्रममा महाराष्ट्र, राजस्थान, दिल्लीलगायतका विभिन्न राज्यमा छानबिन गरिएको छ । अहिलेसम्म १३ जना आरोपी पक्राउ परिसकेका छन् । सीबीआईले चाँडै नै यस मुद्दामा आरोपपत्र (चार्जशीट) अदालतमा दर्ता गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया