९ वर्ष कारागार बसेर फर्केका अभिषेक गिरी फेरि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १३, २०८३
|
|
१५४ पटक हेरिएको
Shares
९ वर्ष कारागार बसेर फर्केका अभिषेक गिरी फेरि पक्राउ

सारांश

  • नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो।
  •  जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको निवास तथा घरअगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो।

 

१३ असार, विराटनगर ।

नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको निवास तथा घरअगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो। खानतलासीका क्रममा घर वा गाडीमा कुनै शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

​प्रहरी स्रोतका अनुसार, गिरीले कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गर्ने गरेको आरोप छ। मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी छन्, जसले दैनिक ८० रुपैयाँका दरले करिब १६ हजार रुपैयाँ भत्ता पाउने गर्छन्। त्यसबाहेक कारागारभित्र करिब ५ सय जनाले मुडा बुन्ने र १ सय जनाले गलैँचा बुन्ने काम गर्ने गर्दछन्। ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार कैदीबन्दीको पैसा कुन-कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे प्रारम्भिक सूचनाका आधारमा प्रमाण संकलन भइरहेको छ। प्रहरीले हाल गिरी र कारागारका चौकीदारबीचको आर्थिक लेनदेनको विषयमा बैंकिङ कारोबार र अन्य प्रमाणहरू केलाइरहेको छ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनी यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ। गिरी कारागारबाट छुटेपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?