मंसिर पहिलो सातादेखि काम सुरु
२४ भदौको आगजनीपछि पूर्ण रूपमा अयोग्य बनेको पुरानो भवनको सट्टा मन्त्रालय मंसिरको पहिलो सातादेखि सिंहदरबारभित्रैबाट सञ्चालन हुने गरी तयारी भइरहेको छ । ‘एक–दुई हप्तामा सर्न सक्छौँ । श्रमिकहरूले तीव्र गतिमा काम गरिरहेका छन् । मंसिरदेखि भित्रैबाट काम सुरु गर्ने लक्ष्य छ,’ डा. बुढाथोकी भन्छन् । जेनजी प्रदर्शनकारीले गरेको आगजनीले ५० वर्ष पुरानो भवन संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको थियो । यसले राजधानीको बीच भागमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल देखाउँथ्यो ।

रामशाहपथस्थित भवन केवल मन्त्रालयको कार्यालय मात्र थिएन । यसले नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो । युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकता अनुसार कोठामा विभाजन गर्न सकिने थियो । स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्विट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थीले आएर हेर्ने गर्दथे । भवनको कोठाहरूलाई ठूलो वा सानो बनाउन मिल्थो । यस्तो खालको आर्किटेक्ट नेपालबाहेक पाकिस्तान र श्रीलंकामा मात्रै थियो । तर नेपालकै डिजाइन विशिष्ट मानिन्थ्यो । यही कारण यो भवन ‘युनिक’ कहलिन्थ्यो ।
तत्कालिन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्नका लागि यूएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो ।सो सम्झौता सम्पन्न गर्ने क्रममा यूएसएडले लुई कानलाई व्यावसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए । आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भवनको रूपमा उक्त भवनले मान्यता पाएको थियो । नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाको लागि बनेको यो भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ सालमा उद्घाटन गरेका थिए । २५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सयो । पद्मसुन्दर लावती स्वास्थ्यमन्त्री भएपछि फराकिलो कार्यालयको खोजी हुन थाल्यो । त्यही मेसोमा २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि रामशाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो ।


प्रतिक्रिया