सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ

सारांश

  • ५ असोजदेखि बेपत्ता भएका सिरहा गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँप बगैँचामा मृत अवस्थामा फेला परे ।
  • उनको शव फेला परेपछि गाउँभरि सनसनी फैलियो ।
  • प्रहरी टोली तत्कालै घटनास्थल पुगेर अनुसन्धान सुरु गर्‍यो ।

९ असोज, सिरहा ।

५ असोजदेखि बेपत्ता भएका सिरहा गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँप बगैँचामा मृत अवस्थामा फेला परे । उनको शव फेला परेपछि गाउँभरि सनसनी फैलियो । प्रहरी टोली तत्कालै घटनास्थल पुगेर अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर (डग टोली) समेत प्रयोग गरियो । कुकुर सुँघ्दै-सुँघ्दै मृतककै हजुरबुबा पर्ने विन्देश्वर सिंहको आँगनमा पुग्यो । तर घरका अन्य सदस्यसम्म नपुगी रोकियो । त्यस बेला विन्देश्वरका १७ वर्षीय छोरा पंकज छतमा बसिरहेका थिए । १५ वर्षीय बालक अभिषेक हराएपछि पंकज आफन्तसँगै दिनरात खोजीमा सक्रिय थिए ।

उनी भिडमै मिसिएर घटनामा संलग्न नभएझैँ व्यवहार गरिरहेका थिए । तर डग टोली आउँदैछ भन्ने खबर सुनेपछि उनी आत्तिएर छतमा पुगेका थिए । शंका बढेपछि प्रहरीले पंकजसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो । ‘घटना भएको बेलादेखि सँगै खोजिरहेका पंकज डग टोली आएपछि डराएर छतमा बसिरहेका थिए । तर प्रहरी आँगनसम्म पुगेपछि शंकाको आधारमा उनलाई पक्राउ गरियो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने । अनुसन्धानका क्रममा पंकजकै बयान, घटनास्थल र वरपर भेटिएका प्रमाणहरूले उनी नै मुख्य आरोपी भएको प्रष्ट भएको प्रहरी स्रोतले जनाएको छ । घटनामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम साथै मृतक र पंकज दुवैको मोबाइल प्रहरीले बरामद गरेको छ । सिरहाका प्रहरी उपरीक्षक एसपी अनन्त शर्माले दोषी पत्ता लागिसकेको र केही निष्कर्ष आउन बाँकी रहेको बताए । ‘दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन्,’ एसपी शर्माले भने, ‘केही निष्कर्ष निकाल्न बाँकी छ । निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौं ।’ अभिषेकको हत्या आफैंले योजनाबद्ध तरिकाले गरेको पंकजले बयानमा स्वीकारेका छन् । उनको बयानको आधारमै घर नजिकैको पोखरीबाट हत्यामा प्रयोग भएको ड्रम, पोखरी किनाराबाट मृतकको मोबाइल र सिमकार्ड, विद्यालय प्रांगणबाट गम्छा बरामद गरियो । त्यस्तै, पाँच करोड फिरौती माग गर्दै इमोमार्फत पठाइएको सन्देश पठाउन प्रयोग भएको पंकजकै मोबाइल दाउरा राख्ने घरभित्रबाट फेला परेको प्रहरीले जनाएको छ ।

यसरी भयो अभिषेकको हत्या

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार १५ वर्षीय अभिषेक सिंह ५ असोज साँझदेखि अचानक बेपत्ता भएका थिए । अबेर साँझसम्म घर नफर्किएपछि र मोबाइलसमेत नलागेपछि परिवार र आफन्तजनले खोजतलास सुरु गरेका थिए । प्रहरीलाई दिएको बयानमा आरोपित पंकजले अभिषेकलाई खेल्न जाऔं भन्दै घरबाट लगेको स्वीकार गरेका छन् । घटनापूर्व उनले खेतमा खाल्डो खनेर प्लास्टिकको ड्रम तयारी अवस्थामा राखेका थिए । अभिषेकलाई त्यहाँ लगेर मजाक गरेजस्तो गरी गम्छाले हात बाँधिदिए । त्यसपछि आफूले घाँटी थिचेर हत्या गरेको बयान उनले दिएका छन् । हत्या गरी पंकजले शव ड्रममा हालेर पुरे र माथिबाट खेप्टामाटो राखेर ढाकिदिए । हत्या गरिसकेपछि पनि कसैले शंका नगरोस् भनेर पंकज आफन्तसँगै खोजतलासमा लागेको नाटक गर्दै हिँडे । घटनालाई मोड्न उनले ६ असोज बिहान ८ बजेतिर अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाए । सो सन्देशमा पैसा नदिए हत्या गर्ने र प्रहरीले थाहा पाए पनि अभिषेकलाई मारेर फ्याल्ने चेतावनी थियो । यसरी उनले घटना सीमापार बिहारसँग जोडिएको भ्रम फैलाउन खोजेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या पंकजकै संलग्नतामा भएको पुष्टि गरेको छ । अनुसन्धान अधिकृतका अनुसार, उनले फिरौतीको सन्देश पठाएर घटना मोड्न खोजेको र योजनाबद्ध हत्या गरेको स्वीकारेका छन् । हत्या भएको दिन बेलुकी ठूलो वर्षा भएपछि पंकज फेरि शव लुकाएको ठाउँमा पुगेका थिए । पानीले माटो धस्सिँदा ड्रम देखिन थालेपछि उनले शव निकालेर छेउको आँप बगैँचामा फ्याले र ड्रमलाई नजिकैको पोखरीमा डुबाए । भोलिपल्ट बिहान स्थानीयले शव देखेपछि सनसनी मच्चियो । पंकजले प्रहरीसमक्ष दिएको बयानअनुसार, अभिषेकले आफूलाई ट्याक्टर चलाउन सिकाउन अस्वीकार गरेकाले योजनाबद्ध हत्या गरेका हुन् । अभिषेक रेखादेवीका एउटै छोरा थिए । करिब १० वर्षअघि अभिषेकका पिता सञ्जय सिंहको मोटरजडित कलमा करेन्ट लागेर मृत्यु भएको थियो । पैतृक सम्पत्ति भएकाले अभिषेकले अध्ययन छाडेर ट्याक्टरमार्फत खेतीपाती गरिरहेका थिए । छोराको मृत्युपछि आमा अचेत अवस्थामा छिन् । सीआईबीले थाल्यो अनुसन्धान पंकजले घटना आफूले एक्लै गराएको स्वीकार गरिसके पनि अन्य व्यक्तिको संलग्नता हुनसक्ने कोणबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान अघि बढाएको छ ।

पंकजको बयानका आधारमा मात्र हेर्दा, उमेरले सानो भएका कारण उनले अभिषेकको हत्या गरेर शव ड्रममा लुकाई पुनः निकालेर फालेको हुनसक्ने शंका प्रहरी र मृतक परिवारमा छ । अभिषेक परिवारको एक्लो छोरा भएको र उनको नाममा पुर्ख्यौली करिब चार बिघा जमिन रहेकाले सम्पत्ति हत्याउने उद्देश्यले हत्यामा अन्य आफन्त समेत संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसबाहेक पंकज नाबालक भएकाले उनले मात्र दोष स्वीकार गरे सजाय कम भएर छुट्ने रणनीतिअन्तर्गत योजनाबद्ध ढंगले अभिषेकको हत्या गरिएको त होइन भन्ने प्रश्न पनि उठाइएको छ । मुख्य आरोपी पंकज नाताले मृतक अभिषेकका काका पर्छन् । पंकज अभिषेकका हजुरबुबा लक्ष्मण महतोका तीन दाजुभाइमध्ये कान्छा तुल्सी महतोका नाति तथा विन्देश्वर सिंहका छोरा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?
३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक