चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
सारांश
- उनका श्रीमान् विवेक लटौलाले तुरुन्तै एम्बुलेन्स बोलाएर सारदालाई हेटौंडा अस्पताल पुर्याउँछन्।
- अस्पतालमा आइपुग्ने बित्तिकै सारदाले छोरालाई जन्म दिन्छिन्।
- बच्चा जन्मिएपछि उनलाई प्रसुती वार्डमा सारिन्छ।

१ फागुन, मकवानपुरको मनहरी गाउँपालिका-१ की सारदा बिष्टलाई गत पुस १ गते बिहानपख प्रशवपीडा सुरु हुन्छ। उनका श्रीमान् विवेक लटौलाले तुरुन्तै एम्बुलेन्स बोलाएर सारदालाई हेटौंडा अस्पताल पुर्याउँछन्। अस्पतालमा आइपुग्ने बित्तिकै सारदाले छोरालाई जन्म दिन्छिन्। बच्चा जन्मिएपछि उनलाई प्रसुती वार्डमा सारिन्छ। विवेक भर्खरै जन्मिएको शिशुलाई दुई हातले च्यापेर बस्छन्। शिशु जन्मिएको करिब १५ मिनेटपछि एक स्टाफ आइपुग्छिन्।

उनले विवेकको हातबाट ती शिशुलाई लिन्छिन् र हतार/हतार नाबी काटिदिन्छिन्। धेरैबेरसम्म बच्चालाई कपडा लगाइिदन नपाएकै कारण शरीर चिसो हुन्छ। शिशुका बुवा विवेक ती क्षण सम्झदैँ भन्छन्, ‘बावु चिसो भएको थियो। ती स्टाफले बावुको नाबी काटेर भित्र कोठामा लगिन्। केही बेरमा म बच्चा हेर्न त्यो कोठमा पुगेँ। बच्चा कन्दै रोइरहेको थियो। नाङ्गो बच्चालाई हिटरमा सेकाइरहेको मैले देखेँ। केहीबेरमै ती स्टाफले विवेकलाई छिटो एम्बुलेन्सको व्यवस्था गर्न भनिन्। विवेकको मन डराइसकेको थियो। उनले के? किन? कसो? केही नसोधी एम्बुलेन्सलाई फोन गरे। करिब आधा घण्टापछि एम्बुलेन्स हेटौंडा अस्पताल आइपुग्यो। बच्चालाई थप उपचार गराउनका लागि भरतपुर लानू भनेर ती स्टाफले विवेकको हातमा शिशु थमाइदिइन्।

बिहानको ६ बजेतिरको समयमा बच्चालाई एम्बुलेन्समा लिएर विवेक चितवनतर्फ लागे। उनी भन्छन्, ‘बच्चालाई अक्सिजन लगाइएको थियो। बाटोमा पनि सानो स्वरले रोइरहेको थियो। छिटोछिटो भरतपुर पुर्यायौँ। उता पुगेपछि सिएमसी अस्पताल, भरतपुरमा लग्यौं। त्यहाँका डाक्टरहरूले बच्चालाई पोलेको रहेछ। के गर्नुभको यस्तो? भनेर हामीलाई सोध्नुभयो। तब पो म छाङाबाट खसेजस्तै भएँ।’ शिशुको अवस्था नाजुक देखेपछि सिएमसी अस्पतालले पनि भर्ना लिन नमानेको उनी बताउँछन्। बेड खाली छैन भन्दै अर्को अस्पताल लान भनेपछि भरतपुरकै निको अस्पतालमा पुग्छन् विवेक। त्यहाँ पनि बेड खाली नभएको भन्दै भरतपुरस्थित सरकारी अस्पतालमा लैजान सुझाव दिन्छन्। सोही सुझावअनुसार विवेकले आफ्ना छोरालाई सरकारी अस्पतालमा भर्ना गराए। बच्चालाई पोलेको र टाउकोमा पनि दख्खल देखिएको डाक्टरहरूले बताए।

करिब ३५ दिनसम्म सोही अस्पतालमा राखेर शिशुको उपचार भयो। तर त्यतिका दिनसम्म पनि परिवारलाई बच्चा भेट्न नदिइएको मृतक शिशुकी हजुरआमा चन्द्रावती बताउँछिन्। ‘भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो,’ उनले भनिन्, ‘अहिले ठिक होला छैन, भरे ठिक होला छैन। त्यस्तो भएपछि हामीले हेटौँडा अस्पतालमा पनि बच्चा पोलिएको विषयमा सोधिखोजी गर्यौँ। अस्पतालले गल्ति स्वीकार गर्यो। र उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनायो।’ बच्चाको अवस्थामा सुधार नआएपछि परिवारले थप उपचार गर्न जहाँ लानुपरे पनि लान्छु भनेपछि भरतपुर अस्पतालले घर लैजान सुझाव दियो। धुकधुकी श्वास फेरिरहेको बच्चालाई सकेसम्म बचाउने चाहानले काठमाडौँ लाने सोच उनले बनाए। यता, हेटौंडा अस्पतालका प्रमुख भीमसागर गुरागाईँले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको बलमा उनीहरूले भेन्डिलेटर जडित एम्बुलेन्समा शिशुलाई लिएर ३६ औं दिनमा काठमाडौं गए। काठमाडौंको टिचिङ अप्तालमा पुगेपछि बच्चाको सिटी स्यान गरियो।

शिशु भुइँमा बज्रीएका कारण टाउकोमा दख्खल पुगेको र पोलेको चोटले पनि बचाउन नसकिने रिर्पोट आयो। यतिबेलासम्म लटौला परिवारले उपचारका क्रममा १ कठ्ठा जग्गा र भएभरका नगद सकाइसकेको थियो। उपचार नलाग्ने भनेपछि विवेकले शिशुलाई घर लैजाने अनुमती मागे। तर भेन्डिलेटरबाट निकाएिको १५ मिनेटमै शिशुको मृत्यु भयो। बुधबार (हिजो) आफ्नो बच्चाको मृत्यु भएपछि लटौला परिवार शोकमा छन्। दुईवटी छोरीपछि जन्मिएको छोरा अस्पतालको लापरबाहीकै कारण गुमाउनु परेको चोटले सिंगो मनहरी नै यतिबेला शोकमग्न बनेको छ। आफ्नै हातमा जन्मिएको बच्चा हेर्दा स्वस्थ भएको विवेक बताउँछन्। जब भित्र ती स्टाफले आफ्ना छोरालाई लगे, त्यसपछि यो समस्या उब्जिएको उनको दाबी छ। ‘नाङ्गो बच्चालाई हिटरमा धेरैबेर राखेरै पोलदिए, उनले थपे, ‘सिटी स्यानको रिर्पोटअनुसार टाउकोमा पनि निकै चोट लागेको रहेछ। बच्चालाई भुइँमा पनि उनीहरूले नै खसालीदिए। यति गल्ति हुँदाहुँदै पनि अस्पताल प्रशासन मौन छ। उपचारमा सहयोग गर्छु भन्थे। एक रुपैँया पाइएन। बच्चाको मृत्यु नै हुँदासमेत वास्ता गरिएको छैन।

प्रतिक्रिया