छठ महापर्वको दोस्रो दिन आज ‘खरना’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २१, २०८१
|
|
२१ पटक हेरिएको
Shares
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’

सारांश

  • श्रद्धा र समर्पणको महापर्व छठको आज दोस्रो दिन, अर्थात् कार्तिक शुक्ल पञ्चमीको दिन ‘खरना’ विधि मनाइँदैछ।
  • मंगलबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुहरूले ‘नहाय-खाय’ विधि सम्पन्न गरी छठ पर्वको औपचारिक सुरुवात गरेका थिए।
  • आजको दिन बिहान पवित्र स्नान गरेर दिनभरि निराहार उपवास बस्ने चलन छ।

 

काठमाडौं । श्रद्धा र समर्पणको महापर्व छठको आज दोस्रो दिन, अर्थात् कार्तिक शुक्ल पञ्चमीको दिन ‘खरना’ विधि मनाइँदैछ। मंगलबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुहरूले ‘नहाय-खाय’ विधि सम्पन्न गरी छठ पर्वको औपचारिक सुरुवात गरेका थिए। आजको दिन बिहान पवित्र स्नान गरेर दिनभरि निराहार उपवास बस्ने चलन छ।

‘खरना’ विधिमा बर्तालुहरूले दिनभरि निराहार व्रत बसेर साँझपख चन्द्र दर्शनपछि सक्खर, दूध, र मङ्सिरमा पाक्ने स्थानीय धानको चामल मिलाएर माटोको चुल्हो र भाँडामा पकाइएको विशेष खिर छठी देवीलाई चढाउने प्रचलन छ। यो खिरलाई केराको पातमा राखेर देवीलाई अर्पण गरिन्छ र प्रसादका रूपमा बर्तालु र परिवारका सदस्यहरूले ग्रहण गर्छन्। यसरी ‘खरना’ विधिले बर्तालुको आत्मशुद्धि र धार्मिक निष्ठा झल्काउँछ।

भोलि कार्तिक शुक्ल षष्ठीको दिन सूर्य उपासनाको निराहार व्रत सम्पन्न गरिने छ। साँझपख बर्तालुहरू जलाशयमा बनेको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई ‘सझुका अरख’ (प्रथम अघ्र्य) दिने परम्परा छ। यसलाई ‘सझियाघाट’ पनि भनिन्छ।

छठ पर्वको अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई ‘भोरका अरख’ वा ‘पारन’ नामक दोश्रो अघ्र्य दिई पर्वको समापन गरिन्छ। यस दिन सूर्यलाई जटासहितको नरिवल, मिष्टान्न परिकार, केरासहितका फलफूल देखाइने चलन रहेको छ।

छठ पर्वमा बनाइने प्रसादमा ठकुवा, भुसुवा आदि विशेष मिठाइ तयार गरिन्छ, जसलाई ढिकी र जाँतोमा पिसिएको पिठोबाट बनाइन्छ। यी परिकार छठको अघ्र्य दिन पुजामा समर्पण गरिन्छ, साथै इष्टमित्र र आफन्तकहाँ पठाइने मैथिल परम्परा पनि छ। पर्वका लागि घाटहरू सरसफाइ गरी सजाइन्छ, जसले समाजमा स्वच्छता र एकताको भावना अभिवृद्धि गराउँछ।

छठ पर्वमा श्रद्धा, निष्ठा, र पवित्रताको विशेष महत्त्व रहेकोले सम्पूर्ण बर्तालुहरू यस पर्वमा आस्था र समर्पणसहित सहभागी भइरहेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?