२६ जेष्ठ २०८२, आईतवार

ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार

 

३१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसबाट ५ र एमालेबाट ४ जना पहिलोपटक मन्त्री बनेका छन् ।

चौथोपटक प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकारमा दुई ठूला दलबाट ९ नेता पहिलोपटक मन्त्री बनेका हुन् । कांग्रेसले पाएका १० मन्त्रालयमध्ये परराष्ट्रमा आरजु राणा, पर्यटनमा बद्री पाण्डे, स्वास्थ्यमा प्रदीप पौडेल, कृषिमा रामनाथ अधिकारी र वनमा ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् । यी पाँचमध्ये आरजुमात्रै समानुपातिक सांसद हुन् । पाण्डे, पौडेल, अधिकारी र शाही प्रत्यक्ष निर्वाचित सांसद हुन् । कांग्रेसबाट उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र कानून मन्त्री अजयकुमार चौरसिया यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन् । उनीहरू पुनः दोहोरिएका हुन् । खेलकुद मन्त्री बनेका तेजुलाल चौधरी र ऊर्जा मन्त्री बनेका दीपक खड्का पनि यसअघि क्रमशः खेलकुद र खानेपानी राज्यमन्त्री भइसकेका व्यक्ति हुन् ।

एमालेले ८ जनालाई मन्त्री बनाउँदा ४ नयाँ र ४ पुराना अनुहारलाई पठाएको छ । एमालेबाट शिक्षा मन्त्रीमा विद्या भट्टराई, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल, संघीय मामिलामा राजकुमार गुप्ता  र रक्षामा मानवीर राई मन्त्री बनेका नयाँ अनुहार हुन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पुरानै अनुहार हुन् । पौडेल पटकपटक उपप्रधानसहित ८ पटक मन्त्री भइसकेका छन् । यस क्रममा अर्थ मन्त्रालयको जिम्मेवारी नै उनले ५ पटक सम्हालेका छन् ।

लोसपाबाट श्रम तथा रोजगार मन्त्री भएका शरतसिंह भण्डारी १७औं पटक मन्त्री भएका छन् । जसपाबाट खानेपानी मन्त्री बनेका प्रदीप यादव र महिला बालबालिका मन्त्री बनेका  नवलकिशोर साह सुडी दोस्रोपटक मन्त्री भएका हुन् ।  आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । लगत्तै २१ मन्त्रीले पनि राष्ट्रपति पौडेलबाटै शपथ लिए । २५ सदस्यीय मन्त्रिपरिषद्‌मा अब ३ राज्यन्त्रीको पदमात्रै खाली छ ।  ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जसपा र लोसपागरी ४ वटा दल सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment