नवजात शिशुमा क्लबफुट : समयमै उपचार गरे सामान्य जीवन सम्भव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
३८ पटक हेरिएको
Shares
नवजात शिशुमा क्लबफुट : समयमै उपचार गरे सामान्य जीवन सम्भव

सारांश

  • सचिन यादव, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सर्लाही।
  • जन्मजात रूपमा शिशुको खुट्टा बाङ्गो वा भित्रतिर मोडिएको देखिएमा त्यसलाई बेवास्ता गर्नु हुँदैन।
  • यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘कन्जेनिटल टालिप्स इक्वाइनोभेरस’ (CTEV) अर्थात् क्लबफुट भनिन्छ।

डा. सचिन यादव, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
सर्लाही। जन्मजात रूपमा शिशुको खुट्टा बाङ्गो वा भित्रतिर मोडिएको देखिएमा त्यसलाई बेवास्ता गर्नु हुँदैन। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘कन्जेनिटल टालिप्स इक्वाइनोभेरस’ (CTEV) अर्थात् क्लबफुट भनिन्छ। समयमै पहिचान र उपचार गर्न सके क्लबफुट भएका बालबालिकाले पनि सामान्य रूपमा हिँडडुल गर्न सक्छन्।
प्रदेश अस्पताल, मलंगवामा हालै प्रसूति सेवाका क्रममा जन्मिएको एक नवजात शिशुको दुवै खुट्टामा यस्तो विकृति भएको आशंका गरिएको छ। नियमित गर्भजाँच (ANC) नगराएकी गर्भवती महिला प्रसवको दोस्रो चरणमा अस्पताल पुगेकी थिइन्। शिशुको जन्मपछि गरिएको परीक्षणमा दुवै खुट्टामा जन्मजात विकृति देखिएको हो।

तर खुट्टा बाङ्गो देखिँदैमा सबै अवस्थामा क्लबफुट नै हुन्छ भन्ने हुँदैन। त्यसको यकिन पहिचानका लागि विशेषज्ञबाट परीक्षण आवश्यक हुन्छ। के हो क्लबफुट ?
क्लबफुट जन्मजात रूपमा देखिने खुट्टाको विकृति हो। यस अवस्थामा शिशुको एक वा दुवै खुट्टा भित्रतर्फ र तलतर्फ मोडिएको हुन्छ।
यसका चार प्रमुख विशेषता छन्। खुट्टाको भित्री भागमा असामान्य रूपमा बढी चाप हुनु (Cavus), खुट्टाको अगाडिको भाग भित्रतर्फ मोडिनु (Adductus), कुर्कुच्चा भित्रतर्फ फर्किनु (Varus) र गोलीगाँठो तलतर्फ झुकेर पञ्जा तल फर्किनु (Equinus) यसका लक्षण हुन्। यी चार विशेषतालाई छोटकरीमा CAVE भनिन्छ।
गर्भभित्र शिशुको अवस्थिति कारण पनि जन्मँदा खुट्टा अस्थायी रूपमा बाङ्गो देखिन सक्छ। त्यसैले क्लबफुट र अन्य जन्मजात खुट्टाका विकृतिबीच फरक छुट्याउन चिकित्सकीय परीक्षण आवश्यक हुन्छ।
उपचार कसरी गरिन्छ ?
क्लबफुटको उपचार सम्भव छ। यसको उपचारमा विश्वव्यापी रूपमा प्रचलित पोन्सेटी विधि (Ponseti Method) प्रभावकारी मानिन्छ।
यस विधिमा खुट्टालाई क्रमशः सही अवस्थामा ल्याउन विशेष तरिकाले प्लास्टर लगाइन्छ। आवश्यक परेमा एचिलिस टेनोटोमी नामक सानो शल्यक्रिया पनि गर्न सकिन्छ। उपचारपछि खुट्टा पुनः बाङ्गिन नदिन विशेष जुत्ता र बार (Foot Abduction Brace) प्रयोग गर्नुपर्छ।

जन्मपछि जति चाँडो क्लबफुट पहिचान गरी उपचार सुरु गरिन्छ, त्यति नै राम्रो परिणाम प्राप्त हुने सम्भावना हुन्छ। त्यसैले यस्तो समस्या देखिएमा बाल हाडजोर्नी विशेषज्ञसँग परामर्श लिनुपर्छ।
गर्भावस्थामै पहिचान गर्न सकिन्छ ?
गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षणले आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्था थाहा पाउन मद्दत गर्छ। विशेषगरी गर्भावस्थाको १८ देखि २२ हप्तामा गरिने लेभल–टु एनाटोमी स्क्यान (Level-II Anomaly Scan) ले शिशुका विभिन्न अंग तथा संरचनामा हुन सक्ने जन्मजात असामान्यता पहिचान गर्न सहयोग पुर्‍याउँछ।
यस क्रममा क्लबफुटजस्ता खुट्टाका विकृति पनि पहिचान हुन सक्छन्। यद्यपि, अल्ट्रासाउन्डबाट सबै जन्मजात विकृति पत्ता लाग्छ भन्ने हुँदैन। कतिपय अवस्थामा गर्भावस्थामा क्लबफुट पहिचान नहुन पनि सक्छ।
त्यसैले गर्भावस्थामा नियमित चारपटक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार आवश्यक ANC जाँच गराउनुका साथै जन्मपछि प्रत्येक नवजात शिशुको विस्तृत स्वास्थ्य परीक्षण गर्नुपर्छ।
क्लबफुट भएका शिशुका अभिभावक आत्तिनु आवश्यक छैन। समयमै पहिचान, उचित परामर्श र विशेषज्ञको निगरानीमा उपचार गरेमा बालबालिकाले सामान्य जीवन बिताउन सक्छन्।
स्वस्थ आमा र स्वस्थ शिशुका लागि नियमित गर्भजाँच, सुरक्षित प्रसूति र जन्मपछिको गुणस्तरीय स्वास्थ्य परीक्षण अपरिहार्य छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?