अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
सारांश
- सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा जडान गरिएका करोडौं रुपैयाँ मूल्य बराबरका डायलासिस मेसिन अढाई वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् ।
- आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन हुन नसक्दा अस्पतालले हालसम्म हेमोडायलासिस सेवा सञ्चालन गर्न सकेको छैन ।
- तत्कालीन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले २०८० फागुन १२ गते अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए ।
५ असोज, सर्लाही ।
सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा जडान गरिएका करोडौं रुपैयाँ मूल्य बराबरका डायलासिस मेसिन अढाई वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन हुन नसक्दा अस्पतालले हालसम्म हेमोडायलासिस सेवा सञ्चालन गर्न सकेको छैन । तत्कालीन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले २०८० फागुन १२ गते अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए । उद्घाटन भएको अढाई वर्ष बितिसक्दा पनि सेवा सञ्चालनमा नआउँदा मिर्गौला रोगीहरू उपचारका लागि जनकपुर, बर्दिबास, वीरगञ्ज तथा काठमाडौं धाउन बाध्य छन् ।

अस्पतालमा जडान गरिएका पाँचवटा डायलासिस मेसिन लामो समयदेखि प्रयोगमा नआउँदा करोडौं रुपैयाँ बराबरको उपकरण थन्किएको अवस्थामा रहेको छ । स्थानीयवासीले सरकारी लगानीको सदुपयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार यादवले आवश्यक जनशक्ति उपलब्ध नहुँदा सेवा सञ्चालनमा ढिलाइ भएको बताए । उनले आफू अध्यक्षको जिम्मेवारी सम्हालेको छ महिनाको अवधिमा यस विषयमा पटक–पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय र ताकेता गर्दै आएको जानकारी दिए । मन्त्रालयमा बारम्बार ध्यानाकर्षण गराएका छौं । मेसिन र अन्य तयारी लगभग पूरा छ तर आवश्यक प्राविधिक जनशक्ति नपठाइँदा सेवा सञ्चालन हुन सकेको छैन,’ यादवले भने, ‘दशैं पछि सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’त्यस्तै, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश शाहले पनि जनशक्तिको अभाव नै मुख्य समस्या रहेको बताए । उनका अनुसार डायलासिस सेवा सञ्चालनका लागि आवश्यक दक्ष प्राविधिक र स्वास्थ्यकर्मी नहुँदा पटक–पटक छलफल भए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन ।

प्रतिक्रिया