प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
४२ पटक हेरिएको
Shares
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा

सारांश

  • नेपाल प्रहरीमा रिक्त रहेको २६ डीएसपीको बढुवाका निम्ति योग्यता पूरा भएका उम्मेदवार बढी हुँदा पेचिलो बनेको छ ।
  • १२८ इन्स्पेक्टर बढुवाका लागि योग्य छन् ।
  • तर, रिक्त पद थोरै छ ।

 

२६ साउन, काठमाडौं ।

नेपाल प्रहरीमा रिक्त रहेको २६ डीएसपीको बढुवाका निम्ति योग्यता पूरा भएका उम्मेदवार बढी हुँदा पेचिलो बनेको छ । १२८ इन्स्पेक्टर बढुवाका लागि योग्य छन् । तर, रिक्त पद थोरै छ ।२०७२ सालमा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण भएका १२४ इन्स्पेक्टरसँगै तल्लो पुरानो ब्याचका चार इन्स्पेक्टर अहिलेको बढुवाका निम्ति योग्य हुन् । त्यसमध्ये २०५४ मा असईमा भर्ना भएर इन्स्पेक्टर भएको टोलीबाट ३ र २०६४ मा इन्स्पेक्टर भर्ना भएर बढुवामा छुटेका एक इन्स्पेक्टर छन् । २०५४ का प्रवीण जोशी (ज्ञवाली), गौतम बोहोरा र धर्मराज मुडबरी तथा २०६४ मा इन्स्पेक्टरको खुला प्रतिस्पर्धामा उत्तीर्णपछि बढुवामा छुट्दै आएका चन्द्रबहादुर थापा पुरानो ब्याचबाट बढुवा प्रतिस्पर्धी हुन् ।

योग्य उम्मेदवारको तुलनामा रिक्त दरबन्दी ज्यादै कम भएका कारण एक वर्षदेखि यो बढुवा रोकिँदै आएको छ । आउने पुस पहिलो साता माथिल्लो दर्जाका अधिकृतहरू अवकाश हुँदा रिक्त हुने पदहरूमा पूर्ति गर्दा केही डीएसपी एसपीमा बढुवा हुन्छन् । त्यसपछि २६ को संख्या बढेर ४० को हाराहारीमा पुग्ने अनुमान गरिँदैछ । त्यसपछि बढुवा निकाल्ने मनस्थितिमा प्रहरी प्रधान कार्यालय रहेको स्रोतले जनाएको छ । २०५३/०९/०५ भर्ना मिति भएका उच्च अधिकृतहरू पुस ५ मा अवकाश हुँदैछन् । त्यसमा एआईजीहरू सिद्धीविक्रम शाह, सुशीलसिंह राठौर, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र उमाप्रसाद चतुर्वेदी छन् । डीआईजीहरु ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, माधवप्रसाद श्रेष्ठ र दिलीपसिंह देउवा पनि सोही मितिमा अवकाश हुने छन् । अर्का डीआईजी विनोद घिमिरे उमेरहदका कारण केही दिन अगाडि अवकाश हुन्छन् ।

एसएसपी शारदाप्रसाद चौधरी दर्जाको उमेर हद ५५ वर्षका कारण भदौ ९ मा अवकाश हुँदैछन् । माथिल्लो दर्जाका अधिकृतको अवकाश पर्खिनुपर्ने, तर बढुवाको लहर तल्लो दर्जासम्म पुग्न समय लाग्दा अधिकृत दर्जाका प्रहरीको वृत्ति विकास प्रभावित भएको सो दर्जाका अधिकृतहरू बताउँछन् । सामान्यतया एक दर्जामा भर्ना भएको कर्मचारीले १० वर्षभित्र अर्को दर्जामा बढुवा पाउनुपर्ने व्यवस्था छ । २०७२ का इन्स्पेक्टरको हकमा १२४ जनाले डीएसपी हुन मात्रै १२ देखि १५ वर्षसम्म पर्खिनुपर्ने भएको छ । यस्तो हुँदा उनीहरू उमेरहदका कारण एसपी, एसएसपीबाटै अवकाश हुनुपर्ने खतरा बढेको उक्त दर्जाका अधिकृतहरूको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?