निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको बताएका छन्।
- शनिबार नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसका अवसरमा पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बताए।
- फेरि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।
९ साउन, काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको बताएका छन्। शनिबार नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसका अवसरमा पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बताए। फेरि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।

‘अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्य जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अहिले अवस्था छ,’ प्रचण्डले भने। कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको उनले बताए। देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।

‘हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा देखापरेको निरंकुश प्रवृत्तिका विरुद्ध, निरंकुशताका विरुद्ध फेरि एकचोटि सङ्घर्ष गर्ने दृढ अठोट गर्ने, सङ्कल्प गर्ने कुरा पनि हो, यो श्रद्धाञ्जलि वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्छ,’ उनले भने। उनले देशको स्वाधिनतामाथि संकट आइरहेको जिकिर गरे। त्यससँगै देशमा निरंकुश प्रवृत्ति देखापरेको उनको भनाइ थियो। त्यसविरुद्ध एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको उनको जिकिर गरे।


प्रतिक्रिया